एनपीएल क्रिकेटको उपाधिका लागि आज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्दै

काठमाडौँ — दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधिका लागि आज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। त्रिवि क्रिकेट रङ्गशालामा दिउँसो साढे ३ बजे सुरु हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम र पहिलो पटक उपाधि नजिक पुगेको लुम्बिनी आमनेसामने हुन लागेका हुन्। आज उपाधि जित्ने टोली एनपीएलको नयाँ विजेता बन्नेछ।

लुम्बिनी लायन्सको कप्तानी नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले गरिरहेका छन् भने सुदूरपश्चिम रोयल्सको नेतृत्व राष्ट्रिय टोलीकै उपकप्तान दीपेन्द्रसिंह ऐरीले सम्हालेका छन्। सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो।

लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगरलाई ४० रनले हराउँदै फाइनलमा स्थान बनाएको हो। पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको विराटनगरले दोस्रो क्वालिफायर खेल्ने अवसर पाएको थियो।

गत वर्षको फाइनलमा जनकपुर बोल्ट्ससँग ५ विकेटले पराजित भएको सुदूरपश्चिम यसपटक उपाधि जित्ने लक्ष्यमा मैदान उत्रिँदैछ। यस संस्करणको लिग चरणमा सुदूरपश्चिमले लुम्बिनीलाई ७ विकेटले हराएको थियो। यता अघिल्लो संस्करणमा लिग चरणबाटै बाहिरिएको लुम्बिनी यसपटक सुदूरपश्चिमसँगको हार बिर्सँदै पहिलो उपाधि उचाल्ने योजनामा छ।

एनपीएलको विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ५१ लाख रुपैयाँ पाउनेछ। तेस्रो हुने टोलीले २५ लाख र चौथो हुने टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ। यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट एक जना नेपाली खेलाडीले पुरस्कारस्वरूप कार पाउनेछन्।

सर्वोत्कृष्ट खेलाडी बन्ने दौडमा सुदूरपश्चिमका ओपनर विनोद भण्डारी र कप्तान दीपेन्द्रसिंह ऐरी तथा लुम्बिनीका कप्तान रोहितकुमार पौडेल अग्रपंक्तिमा रहेका छन्। नेपाल क्रिकेट सङ्घको आयोजनामा मङ्सिर १ गतेदेखि सुरु भएको यस प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्