काठमाडौँ — महाधिवेशन नजिकिँदै गर्दा नेकपा एमालेले आज महत्वपूर्ण सचिवालय बैठक बस्ने भएको छ। पार्टी मुख्यालय च्यासलमा दिउँसो १ बजे बस्ने बैठकमा महाधिवेशन प्रतिनिधि मनोनयन, विधान संशोधन प्रस्ताव तथा महाधिवेशन सञ्चालनको मोडालिटीबारे छलफल हुने भएको छ।
पार्टी स्रोतका अनुसार केन्द्रीय कमिटी, स्थायी समिति तथा पदाधिकारीको संख्या बढाउने प्रस्तावसहितको विधान संशोधन मसौदा बैठकमा प्रस्तुत गरिँदैछ। तर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधरले यसअघि महाधिवेशनले गरेको निर्णय उल्टिनु नहुने अडान लिँदै आएको कारण बैठकमा तीव्र बहस हुने सम्भावना छ।
यसबाहेक पोखरेलले पेस गरेको दस्तावेजमाथि छलफल नगर्ने संस्थापन पक्षको तयारीले पनि सचिवालय बैठक थप पेचिलो बन्ने अनुमान गरिएको छ।
एमालेको १० औँ महाधिवेशन मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा उद्घाटन हुने छ। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै पार्टीको आगामी राजनीतिक दिशा निर्धारण गर्नेछ।







