काठमाडौं – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच शनिबार दिउँसो साढे ३ बजे रोमाञ्चक फाइनल भिडन्त हुने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार सम्पन्न दोस्रो क्वालिफायरमा लुम्बिनीले विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै उपाधि यात्रा सुनिश्चित गर्यो। १३५ रनको लक्ष्य पछ्याउँदै आएको विराटनगर १७.५ ओभरमै ९४ रनमा समेटिँदा लुम्बिनी सहजै फाइनलमा प्रवेश गर्न सफल भयो।
लुम्बिनीका तिलकराज भण्डारी उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए भने ट्रम्पलम्यान र अभिषेषले २–२ विकेट जोडेर विराटनगरलाई दबाबमा राखे। विराटनगरका शीर्ष क्रम ६ बलमै तीन विकेट गुमाउँदै सुरुआती चरणमै संकटमा परेका थिए। साम हिजलेटले सर्वाधिक ३४ रन बनाए पनि टोलीलाई उकास्न सकेनन्।
यसअघिको इनिङमा लुम्बिनीले ८ विकेटको क्षतिमा १३४ रन जोडेको थियो। डार्शी शर्टले ४५ रनको सानदार खेल खेले भने कप्तान रोहित पौडेलले ३४ रन जोडेर महत्वपूर्ण योगदान दिए। बलिङतर्फ विराटनगरका सुवास भण्डारी र प्रतिश जिसीले समान ३–३ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन्।
गत सिजन उपविजेता बनेको सुदूरपश्चिम रोयल्सले यसपटक उपाधिका लागि लुम्बिनी लायन्ससँग भिड्दै नयाँ च्याम्पियन बन्न खोज्नेछ। शनिबार हुने फाइनलले एनपिएलको नया विजेता कसले बन्ने भन्ने रोमाञ्चक उत्सुकता बढाएको छ।






