जेनजी र सरकारबीचको आन्दोलनलाई जनआन्दोलनको मान्यता दिने सहमति नाटक होः ओली

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जी र सरकारबीच भदौ २३–२४ को आन्दोलनलाई जनआन्दोलनको मान्यता दिने सहमति “कलाविहीन भद्दा नाटक” मात्र भएको टिप्पणी गरेका छन्। आज काठमाडौंमा आयोजित सम्पादकहरूसँगको विशेष संवाद कार्यक्रममा बोल्दै ओलीले वर्तमान सरकारलाई प्रणाली र संरचनाबारे कुनै पनि किसिमको सम्झौता गर्न अधिकार नै नभएको दाबी गर्दै यो सम्झौता राजनीतिक रूपमा अस्वाभाविक र प्रावधानविपरीत भएको बताए।

उनका अनुसार सरकार जनादेशले दिएको सीमाभन्दा पर गएर राज्य व्यवस्था र प्रणालीसम्बन्धी संवेदनशील विषयमा सहमति गर्न उद्यत देखिनु नै अनुचित कदम हो। “कुनै पनि प्रणाली र व्यवस्थाबारे सम्झौता गर्ने म्यान्डेट यो सरकारले कहाँबाट पायो?” भन्दै उनले सम्झौताप्रति कडा असन्तुष्टि व्यक्त गरे। उनले थपे, “हिजो एउटा कलाविहीन नाटक भयो। त्यसमा धेरै भन्नुपर्छ र? सरकारले गर्न नपाइने कुरा गर्दैछ।”

अध्यक्ष ओलीले हालको सरकारले चुनाव गराउने क्षमता नै नरहेको भन्दै राजनीतिक जटिलता बढ्दै गएको टिप्पणी गरे। सरकार चलाउने वैधानिक र राजनीतिक बल दुवै कमजोर बन्दै गएको संकेत गर्दै उनले “संसद् पुनर्स्थापना नै अन्तिम विकल्प” हुन सक्ने दाबीसमेत प्रस्तुत गरे। उनका अनुसार वर्तमान परिस्थितिमा चुनाव सम्भव नभएकाले व्यवस्थागत निकास खोज्न संसद् पुनर्स्थापना एकमात्र व्यावहारिक विकल्प बन्न सक्छ।

जेन–जी आन्दोलनलाई औपचारिक मान्यता दिने सरकारी कदमबारे विभिन्न राजनीतिक पक्षबाट कडा प्रतिक्रिया आइरहेका बेला एमाले अध्यक्ष ओलीको यो अभिव्यक्तिले आगामी राजनीतिक माहोल अझै तातेको देखिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्