एमाले संस्थापन पक्षमा आकांक्षी तीन दर्जनभन्दा बढी पुगेपछि प्यानल मिलाउन कठिनाइ

काठमाडौँ –  एमाले महाधिवेशन नजिकिँदै जाँदा संस्थापन र इतर दुबै पक्षले आ–आफ्नो प्यानल बनाउने गृहकार्य तीव्र पारेका छन्। तर संस्थापन पक्षमा पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी पुगेपछि प्यानल मिलाउन कठिनाइ परेको छ। इतर पक्षमा भने कमै नेता खुलेका कारण केन्द्रीय कमिटीसम्म प्यानल बनाउने कि पदाधिकारीमै सीमित रहने भन्नेबारे निर्णय हुन बाँकी छ। दुवै पक्षले २८ मंसिरमा उम्मेदवारी मनोनयन गर्ने दिन प्यानल सार्वजनिक गर्ने तयारी गरेका छन्।

एमाले विधानले १५ पदाधिकारी—१ अध्यक्ष, ३ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ७ सचिव—को व्यवस्था गरेको छ। तर ओली निकट समूहमा मात्र ४० भन्दा बढीले पदाधिकारीमा दाबी गरेसँगै समायोजन चुनौती बनेको छ। उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा र गुरु बराललाई निरन्तरता दिने सम्भावना देखिन्छ भने रघु पन्त र विष्णु रिमाल पनि दाबेदारका रूपमा उभिएका छन्। महासचिवमा शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली आकांक्षी छन्, जसले अध्यक्ष ओलीलाई व्यवस्थापनमा थप दबाब पारेको छ।

उपमहासचिव तथा सचिव पदहरूमा संस्थापन पक्षमा भिडन्त झनै चर्को छ। लेखराज भट्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा र पद्मा अर्याल उपमहासचिवमा दाबी गरिरहेका छन्। महेश बस्नेत पनि अध्यक्ष ओलीका लागि कार्यगत रूपमा सक्रिय रहेका कारण उपमहासचिव वा सचिव दुवै पदमा दाबी गर्ने तयारीमा छन्। सचिव पदका आकांक्षीहरूको संख्या दर्जनौँ पुगेको छ, जसमा खगराज अधिकारी, भानुभक्त ढकाल, किरण गुरुङ, काशीनाथ अधिकारी, शेरधन राई, राजन भट्टराई, अग्नि खरेल, राजेन्द्र गौतम, हिक्मत कार्की, सूर्य थापा, जुली महतो, ज्वाला साह, नीरज आचार्य, नरुलाल चौधरी, खिमलाल भट्टराई, पदम गिरी र विशाल भट्टराईलगायत छन्। स्थायी कमिटीका अधिकांश सदस्य पनि पदाधिकारीमा आकांक्षी बनेका छन्, जसले संस्थापन पक्षमा प्रतिस्पर्धा तीव्र बनाएको छ।

इतरपक्षमा महासचिवका लागि सुरेन्द्र पाण्डे वा योगेश भट्टराईमध्ये एक उम्मेदवार बन्ने देखिएको छ। अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल पक्षलाई पूर्वराष्ट्रपति विद्या भण्डारीको समर्थन खुलेर आएको छ। पोखरेल समूहमा उपाध्यक्ष युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य दोहोरिन चाहँदैनन् भने सचिव गोकर्ण बिष्टले कुन पदमा उम्मेदवारी दिने भन्ने टुंगो लगाएका छैनन्। इतर समूहमा पदाधिकारी तहसम्म प्यानल बनाउने गरी पर्याप्त नेता खुलिसकेका छैनन्। तर उपमहासचिवमा बिन्दा पाण्डे र सचिवमा परशुराम मेघी गुरुङ, ठाकुर गैरे, सुरेन्द्र मानन्धर, रचना खड्का तथा उषाकिरण तिम्सेनालाई अघि सार्ने तयारी गरिएको छ।

यसैबीच वरिष्ठ उपाध्यक्ष तथा अध्यक्षका प्रत्याशी ईश्वर पोखरेलले २३ र २४ भदौको घटनाबारे छानबिन गरिरहेको आयोगमा अध्यक्ष ओलीले बयान दिनु नै पर्ने बताएका छन्। आयोगको निष्पक्षतामाथि प्रश्न रहेतापनि राज्यले गठन गरेको निकायमा बयान दिनु स्वाभाविक भएको उनको भनाइ छ। पार्टीभित्र लोकतान्त्रिक पद्धति विकास र सामूहिक नेतृत्वको आवश्यकता रहेको भन्दै उनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन्। ओलीले नेतृत्वबाट अलग भएर ‘अभिभावक’को भूमिकामा पुग्न तयार भए मात्र सहमति सम्भव हुने पनि पोखरेलले स्पष्ट पारे।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्