क्यानका निलम्बित महानिर्देशक प्रदीप अधिकारीसँग पाँच लाख धरौटी माग, तर थुनामै रहने

काठमाडौं — विशेष अदालतले नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीसँग पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र डिल्लीरत्न श्रेष्ठको इजलासले थुनछेक बहसपछि अधिकारीलाई धरौटीमा रिहा गर्न सकिने आदेश दिए पनि उनी तत्काल रिहा नहुने छन्। कारण—उनी पहिलेदेखि नै अर्को मुद्दामा पुर्पक्षका लागि थुनामा छन्।

यसअघि भक्तपुरको नलिन्चोकमा निर्माण भएको हेलिपोर्टसम्बन्धी भ्रष्टाचार मुद्दामा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो। सोही आदेश कायम रहेकाले धरौटी आदेश आए पनि उनी जेलमै रहनेछन्।

यस्तै, उही मुद्दामा संलग्न क्यानका पूर्वनिर्देशक मुरारी भण्डारीसँग विशेष अदालतले एक लाख रुपैयाँ धरौटी माग गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता तथा भ्रष्टाचार भएको आरोपमा महानिर्देशक अधिकारीसहित ५५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्