काठमाडौँ — राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौँ जिल्ला समितिद्वारा आयोजना गरिएको खेलकुद सप्ताह–२०८२ अन्तर्गत फुटसल तर्फका खेलहरू आजदेखि औपचारिक रूपमा सुरु भएका छन्।
कपनस्थित दिक्क्षालय फाउन्डेशनमा विहान ९ बजेबाट सुरु भएको फुटसल प्रतियोगितामा विभिन्न विद्यालयका टिमहरूको उत्साहपूर्ण सहभागिता रहेको आयोजक समितिले जनाएको छ। यस वर्षको खेलकुद सप्ताहमा १३९ भन्दा बढी विद्यालयको उपस्थिति रहनेछ भने कक्षा ९ सम्मका विद्यार्थी मात्र सहभागी हुन पाउँछन्।
फुटसल प्रतियोगिताका संयोजक नारायणबाबु तिमल्सिनाका अनुसार पहिलो दिनकै खेलहरू प्रतिस्पर्धात्मक र रोचक बनेका छन्। प्रतियोगितामा सहभागिता शुल्क रु. ४००० तोकिएको छ। विजयी टिमहरूलाई ट्रफी, मेडल तथा नगद पुरस्कार प्रदान गरिनेछ।
खेलकुद सप्ताहअन्तर्गत फुटसलसहित बास्केटबल, कबड्डी र तानडोरी गरी चार खेलको आयोजना गरिएको छ। करिब रु. ७ लाख ७५ हजार लागतमा सञ्चालन भइरहेको खेलेकुद सप्ताह मंसिर २२ मा भव्य उद्घाटनसहित सुरु भइसकेको छ भने पुष १ गते समापन समारोहका साथ सम्पन्न हुने कार्यक्रम छ।
आयोजक समितिले खेलकुद सप्ताहलाई सफल र प्रभावकारी बनाउन सबै विद्यालय, खेल शिक्षक तथा सम्बद्ध पक्षको सक्रिय सहकार्य आवश्यक रहेको बताएको छ।






