काठमाडौँ — राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौँ जिल्ला समितिद्वारा आयोजित खेलकुद सप्ताह–२०८२ औपचारिक रूपमा सुरु भएको छ। यस वर्षको खेलकुद सप्ताह विद्यार्थीको शारीरिक, मानसिक र सामाजिक विकाससँगै अनुशासित र सक्षम नागरिक निर्माण गर्ने उद्देश्यका साथ सञ्चालन भइरहेको छ। कार्यक्रममा १३९ भन्दा बढी विद्यालयको सहभागिता रहनेछ।
यस वर्षको खेलकुद सप्ताह मंसिर २२ गते सिफल खेलमैदानमा भव्य उद्घाटन समारोहसहित सुरु भएको हो। उद्घाटन दिवसमा २००० भन्दा बढी विद्यार्थीको सहभागितामा निःशुल्क मार्चपास आयोजना गरिएको थियो। उक्त मार्चपास प्रतियोगितामा एपेक्स विद्यालय प्रथम, सगरमाथा विद्यालय द्वितीय र निर्मल ज्योति विद्यालय तृतीय भएका छन्। विजेता टोलीहरूले निर्धारित नगद पुरस्कारसहित ट्रफी तथा मेडल प्राप्त गरेका छन्।
खेलकुद सप्ताहअन्तर्गत फुटसल, बास्केटबल, कबड्डी र तानडोरी गरी चार खेलमा प्रतिस्पर्धा हुनेछ। यी प्रतियोगितामा कक्षा ९ सम्मका विद्यार्थी मात्र सहभागी हुन सक्ने छन्। सबै विद्यालयलाई पहिचानयुक्त पोशाक, खेल पोशाक, विद्यार्थी परिचयपत्र तथा प्रतिनिधि खेल शिक्षकसहित सहभागी हुन अनुरोध गरिएको छ।
चारै खेलका संयोजक तोकिएका छन्—फुटसलमा नारायणबाबु तिमल्सिना, बास्केटबलमा माधव अधिकारी, कबड्डीमा समिर बास्तोला, तानडोरीमा शिवराम गिरी तथा मार्चपासमा टंक थापा। खेलका लागि सहभागिता शुल्क फुटसल, बास्केटबल र कबड्डीका लागि रु. ४००० र तानडोरीका लागि रु. ३००० तोकिएको छ। प्रत्येक विधामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई ट्रफी तथा मेडल प्रदान गरिनेछ।
खेलहरू पूर्वाधारअनुसार विभिन्न स्थानमा सञ्चालन हुनेछन्—फुटसल कपनस्थित दिक्क्षालय फाउन्डेशनमा, बास्केटबल संखमुलको नेरिक एकेडेमीमा, कबड्डी सिनामंगलको AGM स्कुलमा तथा तानडोरी अमर आदर्श विद्यालयमा गरिनेछ।
यसैबीच, आजदेखि फुटसल तर्फका खेलहरू औपचारिक रूपमा सुरु भएका छन्। दिक्क्षालय फाउन्डेशनमा विहान ९ बजेदेखि खेल सुरू हनेछ । करिब रु. ७ लाख ७५ हजार लागतमा सञ्चालन भइरहेको खेलकुद सप्ताह पुष १ गते समापन समारोहका साथ सम्पन्न हुने जनाएको छ। आयोजक समितिले खेलकुद सप्ताह सफल बनाउन सबै पक्षको सक्रिय सहकार्य आवश्यक रहेको जनाएको छ।






