काठमाडौँ – नागढुङ्गा–मलेखु सडक खण्ड पर्सि बुधबार (मंसिर २४) देखि पुस १ गतेसम्म आंशिक रूपमा बन्द रहने भएको छ। सडक कालोपत्र तथा स्तरोन्नतिको कामलाई तीव्रता दिन यो अवधिभर दैनिक पाँच घण्टा गाडी चलाउनु रोक्ने निर्णय गरिएको नागढुङ्गा–मुग्लिन सडक आयोजनाले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं र धादिङ तथा आयोजनाले जारी गरेको संयुक्त सूचनाअनुसार नागढुङ्गादेखि पिप्लामोड र पोखरेभिर क्षेत्रसम्म बिहान १०:३० बजेदेखि दिउँसो ३:३० बजेसम्म आवागमन बन्द हुनेछ। यात्रु र चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा आफ्नो यात्रा समय यस अवधिभन्दा अगाडि वा पछि मिलाउन अनुरोध गरिएको छ।
आवश्यक अवस्थाको लागि साना तथा मझौला गाडीहरूलाई सीतापाईला–भिमढुङ्गा–रामकोट–धार्के तथा सामाखुसी–टोखा–छहरे–त्रिशूली–गल्छी हुँदै जरेखेतबाट त्रिशूलीको पुल पार गरी घाटबेसीको पुल निस्कने वैकल्पिक बाटो प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। एम्बुलेन्स, सुरक्षा निकायका सवारी, दमकल तथा शववाहनजस्ता अत्यावश्यक गाडी भने ट्राफिक प्रहरीको समन्वयमा सञ्चालन हुने सूचनामा उल्लेख छ।
त्रिभुवन राजपथअन्तर्गत पर्ने नागढुङ्गा–नौबिसे खण्ड कालोपत्र तथा स्तरोन्नतिको अन्तिम चरणमा पुगेको छ। विशेषगरी नागढुङ्गादेखि पिप्लामोड खण्ड साँघुरो भएकाले आधुनिक उपकरण र भारी ढुवानीका साधन प्रयोग गरी एकैचोटि काम अघि बढाउनुपर्ने आयोजनाले जनाएको छ। यस्तै, धादिङको गल्छी–गजुरी खण्ड पनि साँघुरो र जोखिमपूर्ण भएकाले पोखरेभिर क्षेत्रमा सडक चौडा गर्ने कार्य जारी रहेको आयोजनाले जनाएको छ। सडक सुधारका कारण केही दिनका लागि यात्रा प्रभावित भए पनि दीर्घकालीन रूपमा सुरक्षित र सहज यातायातका लागि काम आवश्यक रहेको सम्बन्धित निकायले जनाएको छ।







