भारत- गोवाको अरपोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा सिलिण्डर पड्किँदा २३ जनाको मृत्यु भएको छ। सिलिण्डर विस्फोटपछि नाइट क्लबमा भीषण आगलागी हुँदा ठूलो मानवीय क्षति पुगेको भारतीय अधिकारीहरूले बताएका छन्।
प्रहरीका अनुसार घटना शनिबार राति करिब १२ बजे भएको हो। घटनाबारे जानकारी पाएलगत्तै गोवाका मुख्यमन्त्री प्रमोद सावन्तसहित स्थानीय जनप्रतिनिधिहरू घटनास्थल पुगेका थिए। मुख्यमन्त्री सावन्तले मृत्यु हुनेमध्ये तीन महिला र केही विदेशी तथा स्थानीय पर्यटक समेत रहेको पुष्टि गरेका छन्।
भारतीय मिडियाका अनुसार कतिपय व्यक्तिको जलेर र कतिपयको धुवाँमा निसासिएर मृत्यु भएको छ। आगलागी नियन्त्रणमा लिए पनि घटनास्थलमा त्रासद दृश्य रहेको बताइएको छ।
गोवा सरकारले घटनाको विस्तृत छानबिन गर्न र दोषीमाथि कडा कारबाही गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएको छ।







