काठमाडौँ — राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौँ जिल्ला समितिले खेलकुद सप्ताह–२०८२ आयोजना गर्ने भएको छ । शनिवार रिपोटर्स क्लबमा पत्रकार सम्मेलनको आयोजना गरी नेशनल प्याब्सन काठमाडौंका उपाध्यक्ष तथा जिल्ला अतिरिक्त क्रियाकलाप संयोजक प्रेम कुमार भुजेलले खेलकुद सप्ताहका उद्देश्य, तयारी र सञ्चालन योजनाबारे विस्तृत जानकारी प्रदान गर्नुभयो ।
उहाँका अनुसार नेशनल प्याब्सनले विगत वर्षहरूजस्तै यस वर्ष पनि विद्यार्थीमा शारीरिक, मानसिक र सामाजिक विकाससँगै अनुशासित तथा सक्षम नागरिक निर्माण गर्ने लक्ष्यसहित जिल्लाव्यापी खेलकुद सप्ताहको आठौँ संस्करण आयोजना गर्दै आएको छ। कार्यक्रममा १३९ भन्दा बढी विद्यालयको सहभागिता रहने जानकारी दिइयो।
यस वर्षको खेलकुद सप्ताह मंसिर २२ गते सिफल खेलमैदानमा नेपाल सरकारका खेलकुदमन्त्रीको प्रमुख आतिथ्यतामा भव्य उद्घाटन समारोहमार्फत सुरु हुनेछ। उद्घाटन दिवसमा २००० भन्दा बढी विद्यार्थीको सहभागितामा निःशुल्क मार्चपास प्रतियोगिता गराइने र विजेता टोलीलाई क्रमशः रु. ५०००, ३००० र २००० नगद पुरस्कार प्रदान गरिनेछ।

खेलकुद सप्ताहअन्तर्गत फुटसल, बास्केटबल, कबड्डी र तानडोरी गरी चार विधामा प्रतियोगिता हुनेछ। यी चार विधामा कक्षा ९ सम्मका विद्यार्थीले मात्र भाग लिन सक्नेछन्। प्रत्येक खेलका लागि सबै विद्यालयलाई पहिचानयुक्त पोशाक, खेल पोशाक, विद्यार्थी परिचयपत्र तथा प्रतिनिधि खेल शिक्षकसहित सहभागी हुन अनुरोध गरिएको आयोजकले जनाएको छ।
चारै खेलका संयोजकसमेत तोकिएका छन्। फुटसल खेलको संयोजकमा जिल्ला उपाध्यक्ष नारायणबाबु तिमल्सिना, बास्केटबलमा उपाध्यक्ष माधव अधिकारी, कबड्डीमा उपाध्यक्ष समिर बास्तोला, तानडोरीमा स-सचिव शिवराम गिरी तथा मार्चपास संयोजकमा जिल्ला कोषाध्यक्ष टंक थापा रहेका छन्।
प्रतियोगिताका लागि सहभागिता शुल्क फुटसल, बास्केटबल र कबड्डीमा रु. ४००० र तानडोरीमा रु. ३००० निर्धारण गरिएको भुजेलले जानकारी दिए। प्रत्येक विधामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई ट्रफी तथा मेडल प्रदान गरिनेछ।
पूर्वाधार तथा सुविधाको उपलब्धता अनुसार खेलहरू छुट्टाछुट्टै स्थानमा सञ्चालन हुनेछन्—फुटसल कपनस्थित दिक्क्षालय फाउन्डेशन, बास्केटबल संखमुलको नेरिक एकेडेमी, कबड्डी सिनामंगलको AGMस्कुल तथा तानडोरी सिनामंगलकै अमर आदर्श विद्यालयमा गरिनेछ।

करिब रु. ७ लाख ७५ हजार लागतमा सञ्चालन हुने खेलकुद सप्ताह पुष १ गते समापन समारोहका साथ सम्पन्न गरिनेछ। कार्यक्रम सफल बनाउन संयोजक, प्रशिक्षक, रेफ्री, प्रायोजक तथा सहभागी सबैको सहकार्य अपरिहार्य रहेको आयोजक समितिले उल्लेख गरेको छ।
समापनमा भुजेलले उपस्थित सबै पत्रकार तथा अतिथिहरूलाई धन्यवाद व्यक्त गर्दै खेलकुद सप्ताह सफल बनाउन सबै पक्ष एकजुट भएर अघि बढ्न नेशनल प्याब्सन काठमाडौँ जिल्ला समिति अध्यक्ष अमृत कुमार खड्काले आग्रह गर्नुभयो ।







