भारत र रूसबीच रक्षा, ऊर्जा, व्यापार र कनेक्टिभिटीका क्षेत्रमा महत्त्वपूर्ण सम्झौताहरू भएको छ। नयाँ दिल्लीमा सम्पन्न २३औँ वार्षिक द्विपक्षीय बैठकमा स्वास्थ्य, कृषि, शिक्षा, जनस्तर आदान–प्रदान, जहाज तथा समुद्री सहकार्य, र मल–उद्योगसम्बन्धी महत्वपूर्ण सम्झौता भएको बीबीसीले जनाएको छ।
साथै सन् २०३० सम्मको आर्थिक सहकार्य कार्यक्रमले व्यापार, लगानी र सह–उत्पादनका नयाँ अवसर खुला गरेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसको महत्व उल्लेख गरेका छन्। रूसले भारतको सबैभन्दा ठूलो परमाणु ऊर्जा परियोजनालाई ‘फ्ल्यागशिप’ परियोजनाका रूपमा व्याख्या गरेको छ। दुवै देशबीच खनिज, सांस्कृतिक तथा मानवीय आदान–प्रदानमा सहकार्य विस्तार हुने र आतंकवादविरुद्ध साझा आवाज उठाइने प्रतिबद्धता व्यक्त गरिएको छ।
उता, दुईदिने भारत भ्रमणका क्रममा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले डोनवास क्षेत्र नछोडे थप बल प्रयोग गर्ने चेतावनी दिएका छन्। भारत र अमेरिकाबीच व्यापार तनाव बढिरहेको बेला रूससँग भएका नयाँ सम्झौताले वाशिङ्टनको भारतप्रतिको दृष्टिकोण कस्तो हुने भन्ने चासो बढेको छ, किनकि अमेरिकाले भारतमाथि रुसबाट तेल किन्ने विषयमा निरन्तर दबाब दिँदै आएको छ। यद्यपि पुटिनले भारतलाई निर्बाध रूपमा इन्धन आपूर्ति गर्न रूस पूर्ण रूपमा तयार रहेको बताएका छन्। दुईदिने भारत भ्रमण सकाएर राष्ट्रपति पुटिन गएराति स्वदेश फर्किएका छन्।







