पर्यटन र विकासका लागि अपिहिमाल गाउँपालिका र अर्जुनचौपारी गाउँपालिकाको हातेमालो

काठमाडौँ — दार्चुलाको अपिहिमाल गाउँपालिका र स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाबीच भगिनी सम्बन्ध स्थापना तथा आपसी सहकार्यसम्बन्धी महत्वपूर्ण सम्झौता भएको छ। राजधानीमा आयोजित कार्यक्रममा अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहरा र अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार अर्जुनचौपारी गाउँपालिकामा एक हजार नौ सय मिटर उचाइमा निर्माण भइरहेका क्रिकेट रङ्गशाला, पर्यटन विकास, सांस्कृतिक तथा धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धन, सामाजिक सेवा, अनुभव आदानप्रदान तथा युवा–महिला सशक्तीकरणलगायत क्षेत्रमा संयुक्त रूपमा काम गरिनेछ। अपिहिमाल गाउँपालिकाका अध्यक्ष बोहराका अनुसार सम्झौता दुवै पालिकाको समन्वय क्षमता र क्षेत्रीय विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

अर्जुनचौपारी गाउँपालिकामा निर्माणाधीन क्रिकेट रङ्गशाला त्यही पालिकाका जन्मथलो भएका चर्चित क्रिकेटर सन्दिप लामिछानेको सम्मानमा निर्माण भइरहेको जनाइएको छ। अध्यक्ष तिवारीका अनुसार उक्त मैदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित बनाउने लक्ष्यसहित नियमित प्रतियोगिता सञ्चालन गर्ने तयारी सुरु गरिएको छ।

सम्झौतामा कृषि उत्पादन, व्यापार, स्थानीय रोजगारी सिर्जना, आर्थिक विकास र दीर्घकालीन सांस्कृतिक तथा सामाजिक सम्बन्ध सुदृढीकरणका विषयहरू समेटिएका छन्। सहकार्य सहज बनाउन दुवै पालिकाबाट संयोजकसहित भगिनी सम्बन्ध समन्वय समिति गठन गर्ने, जानकारी आदानप्रदानका लागि वेबसाइट तथा सूचना प्रणाली प्रयोग गर्ने, स्रोत–साधन परिचालन तथा प्राविधिक सहयोग उपलब्ध गराइने उल्लेख छ।

पर्यटन प्रवर्द्धनका लागि अर्जुनचौपारीमा रहेको नेपालको पहिलो नवग्रह मन्दिर र अपिहिमाल क्षेत्रका अपिहिमालसहितका अन्य आकर्षक पर्यटकीय गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्ने, उच्च हिमाली पर्यटन, साहसिक तथा ट्रेकिङ मार्ग विकास, सांस्कृतिक कार्यक्रम, जात्रा–उत्सव तथा मौलिक परम्पराको संरक्षणमा समेत दुवै पालिका मिलेर काम गर्ने उल्लेख छ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले प्रोत्साहन गरेको स्थानीय तहबीच सहकार्य, समन्वय र साझेदारीको भावनाअनुसार यस्तो सम्झौता गरिएको अध्यक्ष तिवारीले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्