मधेश प्रदेशमा कांग्रेसका कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त, सातदलीय गठबन्धनको समर्थन

जनकपुरधाम – मधेश प्रदेशमा राजनीतिक उल्टफेरपछि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले संविधानको धारा १६८(२) बमोजिम यादवलाई शुक्रबार मुख्यमन्त्री नियुक्त गरेका हुन्। सात दलीय गठबन्धन—नेपाली कांग्रेस, जसपा, नेपाल जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र अन्य समर्थनसहित ७७ सांसदको बहुमत प्राप्त गरेपछि यादव सत्ताको नेतृत्वमा उभिएका हुन्।

यसअघि संविधानको धारा १६८(३) अनुसार ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता सरोजकुमार यादव मङ्सिर १७ गतेसम्म मुख्यमन्त्री रहेका थिए। तर दलभित्रको असमर्थन र अदालतको आदेशपछि उनले राजीनामा दिए, जसपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखको कार्यालयले धारा १६८(२) अन्तर्गत दाबी आह्वान गरेको थियो। गत कार्तिक २३ गते एमालेका यादव मुख्यमन्त्री नियुक्त हुँदा नै सातदलीय गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। तीन वटै रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले मङ्सिर १५ गते तत्कालीन सरकारलाई २४ घण्टाभित्र विश्वासको मत लिन निर्देशन दिएको थियो। विश्वासको मत लिन नसकेसँगै अदालतले धारा १६८(२) अनुसार नयाँ सरकार गठनको बाटो खुलेको निर्णय सुनाएको थियो।

अदालतको आदेश, राजनीतिक गणित र नयाँ गठबन्धनको संयोजनसँगै मधेश प्रदेशमा फेरि सत्ता परिवर्तन भएको छ। अब मुख्यमन्त्री यादवले बहुमतसहित सरकार विस्तार र प्रदेशका प्राथमिकतामा आधारित शासन सञ्चालनको चुनौती सम्हाल्नुपर्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्