काठमाडौँ – आठौँ नेक्सस कप फुटबल प्रतियोगिता मंसिरको तेस्रो सातादेखि मध्यपुर थिमिमा भव्य रूपमा आयोजना हुने भएको छ। नेक्सस इन्टरनेशनल एकेडेमीको आयोजनामा मंसिर २१ देखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा देशभरका प्रतिष्ठित १६ विद्यालय–टिमको सहभागिता रहनेछ। मध्यपुर युथ एसोसिएशनको खेलमैदानमा हुने प्रतियोगिता १६ टिमहरूले प्रतिस्पर्धा गर्ने सहायक प्रिन्सिपल स्वीकृती राईले जानकारी दिनुभयो ।
आयोजकद्वारा तय गरिएको विस्तृत नियमअनुसार प्रतियोगिताका सबै खेल फिफाको ‘लज अफ द गेम’ का आधारमा नकआउट प्रणालीमा खेलाइनेछन्। कक्षा ६ देखि ०९ सम्म अध्ययनरत र १६ वर्ष पूरा नभएका खेलाडी मात्र सहभागी हुनेछन्। खेलाडीको उमेर तथा परिचय प्रमाणित गर्न विद्यालयले जन्मदर्ता, परिचयपत्र वा BLE कार्ड अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। खेल ३०–३० मिनेटका दुई हाफमा सञ्चालन हुनेछ भने बराबरी भएमा सिधै पेनाल्टीमार्फत नतिजा निकालिनेछ। प्रत्येक विद्यालयले १८ जना खेलाडीको नाम, कागजात र फोटोसहित टोली पेस गर्नुपर्नेछ । सुरुवाती ११ मध्ये एक गोलकिपर अनिवार्य हुनेछ।
खेलाडीले अनिवार्य रूपमा जर्सी नम्बर सहितको पोशाक लगाउनुपर्नेछ र जर्सी नम्वर नदिएको अवस्थामा खेल्न नपाइने नियम छ। खेल क्रममा पहेँलो कार्ड पाएको खेलाडीलाई चेतावनी दिइनेछ भने रातो कार्ड पाएको खेलाडी तुरुन्त खेलबाट निष्कासित हुनेछ र अर्को खेल पनि खेल्न पाउने छैन। लगातार दुई पहेँलो कार्ड पाएमा पनि अर्को खेलमा प्रतिबन्ध लाग्नेछ। रेफ्रीको निर्णय अन्तिम मानिने भएकाले खेलका सम्बन्धमा कुनै विवाद मान्य नहुने अतिरिक्त क्रियाकलाप विवश मुस्यानले बताउनुभयो ।
प्रतियोगिता अवधिभर खेलाडीहरूको स्वास्थ्य, सुरक्षासहित आवश्यक प्राथमिक उपचारको जिम्मेवारी सम्बन्धित विद्यालयको हुने आयोजकले स्पष्ट गरेको छ। खेल मैदानमा विद्यार्थीको अनुशासन, सुरक्षा तथा व्यवहार सम्बन्धि नियम कडाइका साथ लागू गरिनेछ। नियम उल्लङ्घन गर्ने टिम वा खेलाडीमाथि कडा कारबाही हुने चेतावनी समेत दिइएको छ। प्रतियोगिताका विजेताले ५० हजार रुपैयाँ र उपविजेताले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। साथै उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षक र फेयरप्ले टीमलाई विशेष सम्मान प्रदान गरिनेछ। रेफ्री तथा निर्णायकहरूलाई पनि प्रमाणपत्रद्वारा सम्मान गरिने आयोजकले जनाएको छ।
नेक्सस कप विद्यालय–स्तरको प्रमुख फुटबल प्रतियोगिता मानिँदै आएको छ। यसले विद्यार्थीको शारीरिक, मानसिक र अनुशासनात्मक क्षमतावृद्धिमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको आयोजकको दाबी छ। यसवर्ष पनि प्रतियोगिता उत्साहजनक उपस्थिति र प्रतिस्पर्धात्मक खेलसँगै सफलतापूर्वक सम्पन्न हुने अपेक्षा गरिएको छ।







