काठमाडौँ — निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन इच्छुक राजनीतिक दलहरूलाई निवेदन दिन आह्वान गरेको छ। आयोगले आज सूचना जारी गर्दै स्वीकृत निर्वाचन कार्यक्रमअनुसार भोलिदेखि समानुपातिक प्रणालीको प्रक्रिया formally सुरू हुने जानकारी दिएको हो।
आयोगका अनुसार इच्छुक राजनीतिक दलहरूले पर्सि बिहान १० बजेबाट मङ्सिर २३ गते दिउँसो ४ बजेसम्म निवेदन पेश गर्न सक्नेछन्। यसका लागि आयोगले आइतबारदेखि नै कान्तिपथस्थित कार्यालय परिसरमा समानुपातिक निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ। यस प्रणालीका लागि आयोगका सचिव महादेव पन्थ निर्वाचन अधिकृत तोकिएका छन्।
मङ्सिर २४ गते बिहान १० बजेबाट दिउँसो ४ बजेसम्म आयोगले निवेदन दिने राजनीतिक दलहरूको नामावली सार्वजनिक गर्नेछ। यस्तै, समानुपातिक तर्फ उम्मेदवारहरूको बन्दसूची पेश गर्ने समय पुस १३ र १४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म निर्धारण गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो।
प्रतिनिधिसभा चुनाव अब ९० दिन मात्र बाँकी रहेको आयोगले जनाएको छ। पुसमा बन्दसूची बुझाइसकेपछि माघ ८ गते उम्मेदवारको नामावली प्रकाशन हुनेछ। माघ ९ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्ने व्यवस्था रहेको छ । सोही दिन अन्तिम नामावली प्रकाशन गरेर उम्मेदवारहरूलाई निर्वाचन चिह्नसमेत प्रदान गरिने आयोगले बताएको छ।
आयोगले माघ ११ गतेका लागि तोकिएको राष्ट्रिय सभा निर्वाचनको तयारीसमेत अघि बढाइरहेको छ।







