जनकपुरधाम — मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्ने आज बेलुकी ५ बजेको समयसीमा नजिकिँदै गर्दा दलहरूबीच सहमति जुट्न सकेको छैन। नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दुवैले सरकारको नेतृत्व दाबी छाड्न तयार नभएपछि बहुमतीय सहमति टुंगिन नसकेको हो। नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, लोसपा नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीबीच आज भएको बैठक पनि निष्कर्षविहीन बनेको छ।
मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादव र लोसपाका नेता जितेन्द्र सोनल मुख्य दाबेदार रूपमा उभिएका छन्। दुवैले आवश्यक बहुमत जुटाउन विभिन्न दलहरूसँग निरन्तर संवाद गरिरहेका छन्, तर साझा सहमति भने बन्न सकेको छैन। प्रदेश प्रमुख सुरेन्द्र लाभले संविधानको धारा १६८(२) अनुसार सरकार गठनका लागि दाबी पेश गर्न आज ५ बजेसम्म समय तोकिदिएका छन्।
अस्ति बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभा बैठकमा राजीनामा दिएपछि मधेशमा नयाँ राजनीति समीकरण बनाउने प्रयास सुरु भएको हो। समयसीमा नजिकिँदै जाँदा कुन दलले बहुमतको दाबी पेश गर्ने, वा प्रदेश राजनीतिक अनिश्चिततामा प्रवेश गर्ने भन्नेबारे चासो बढेको छ।






