काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दैछ। आउँदो फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनका तयारी तथा समन्वयबारे छलफल गर्न आज दिउँसो ४ बजे बैठक बोलाइएको हो।
प्रधानमन्त्री कार्कीले सर्वदलीय छलफललाई व्यापक बनाउँदै राजनीतिक दलका प्रतिनिधिहरूसँगै नवयुवाका प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोग तथा चुनावसँग सरोकार रहेका अन्य निकायहरूलाई पनि उपस्थित रहन आह्वान गरेकी छन्। सरकारका अनुसार फागुन २१ गतेको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र मर्यादित ढङ्गले सम्पन्न गर्न निरन्तर रूपमा सरोकारवालासँग परामर्श जारी छ।
आगामी चुनावलाई लक्षित गर्दै नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत दलहरूले आ–आफ्ना चुनावी गतिविधि तीव्र बनाएका छन्। दलहरूले उम्मेदवार छनोटदेखि चुनावी तयारी, प्रचार–प्रसार र संगठन सुदृढीकरणमा ध्यान केन्द्रित गरिरहेका छन्। सर्वपक्षीय बैठकले निर्वाचनका चुनौती, सुरक्षायोजना तथा आवश्यक समन्वयबारे थप स्पष्टता दिने अपेक्षा गरिएको छ।







