भारत – रूसी राष्ट्रपति भ्लादिमिर पुटिन भारतको औपचारिक भ्रमणका क्रममा हिजो साँझ नयाँ दिल्ली पुगेका छन्। राष्ट्रपति पुटिन विशेष विमानमार्फत पालम विमानस्थल अवतरण गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं विमानस्थल पुगेर स्वागत गरेका थिए, बीबीसी हिन्दीले जनाएको छ। पुटिनको यो भ्रमण भारत–अमेरिका सम्बन्धमा देखिएको चिसोपनको बीचमा भएकाले अन्तर्राष्ट्रिय समुदायको विशेष ध्यान भारत–रूस कूटनीतिक गतिशीलतामा केन्द्रित भएको छ। आज प्रधानमन्त्री मोदीले हैदरावाद हाउसमा पुटिन तथा उनको प्रतिनिधिमण्डलकै लागि दिवाभोजकाे आयोजना गरेका छन्।
यो भ्रमणका क्रममा दुवै देशबीच रणनीतिक तथा आर्थिक साझेदारीलाई थप मजबुत बनाउने, रक्षा सहयोग विस्तार गर्ने तथा द्विपक्षीय व्यापारलाई बाह्य दबाबबाट सुरक्षित राख्ने मुख्य एजेन्डा रहेको भारतीय अधिकारीहरूले बताएका छन्। भारत–रूसबीचको २३औँ शिखर सम्मेलनमा विभिन्न महत्वपूर्ण सम्झौताहरू हुन सक्ने अनुमान गरिएको छ। पुटिनको भारत बसाइ लगभग २८ घण्टाको रहनेछ भने आज राति साढे ९ बजे स्वदेश फर्कने कार्यतालिका सार्वजनिक गरिएको छ।
यसैबीच, राष्ट्रपति पुटिनले युक्रेनको पूर्वी डोनबास क्षेत्रबारे कडा चेतावनी दिएका छन्। भारत टुडेसँगको विशेष अन्तर्वार्तामा उनले युक्रेनी सेना डोनबासबाट नहटेमा रूसी फौजले बलपूर्वक हटाउने बताएका छन्। उनले युक्रेनसँग “कुनै पनि सम्झौता स्वीकार्य नहुने” स्पष्ट पार्दै कूटनीतिक समाधानको सम्भावनालाई अस्वीकार गरे। उक्त क्षेत्रको झन्डै ८५ प्रतिशत भूभागमा रूसको नियन्त्रण रहेको दाबी गर्दै पुटिनले आफूहरूले आफ्नो “भू–सुरक्षाको प्राथमिकता” अनुसार कदम चालिरहने बताएका छन्।
भारत–रूस सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अपेक्षाबीच पुटिनको यो भ्रमण विश्व राजनीति तथा कूटनीतिक समीकरणमा महत्वपूर्ण मानिएको छ।






