काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले दिगो विकासका लक्ष्य हासिल गर्न अपाङ्गता भएका व्यक्तिको नेतृत्व, सहभागिता र अपनत्वलाई केन्द्रमा राखेर ‘अपाङ्गता समावेशी विकास’लाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरेकी छन्। अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा र पुनःस्थापनामा सहज पहुँच सुनिश्चित गर्न सरकार सक्रिय रूपमा काम गरिरहेको उल्लेख गरिन्।
प्रधानमन्त्री कार्कीका अनुसार अपाङ्गता भएका व्यक्तिको आर्थिक–सामाजिक अवस्था र अपाङ्गताको प्रकृतिअनुसार सेवा-सुविधामा प्राथमिकता प्रदान गर्दै सम्मानजनक र समतामूलक जीवनयापन सुनिश्चित गर्नु राज्यको नीतिगत प्रतिबद्धता हो। उनले अपाङ्गता भएकाले भोगिरहेका भौतिक, दृष्टिकोणजन्य, सञ्चार र कानुनी अवरोध हटाई सबैका लागि पहुँचयुक्त वातावरण निर्माण गर्नु अत्यावश्यक रहेको बताइन्।
स्वावलम्बी र आत्मनिर्भर जीवनका लागि अपाङ्गता रोकथाम, पुनःस्थापना, रोजगारी तथा स्वरोजगारका कार्यक्रमलाई तीनै तहका सरकारको सहकार्यबाट अझ प्रभावकारी बनाउन सकिने विश्वास पनि उनले व्यक्त गरिन्। नेपालको संविधान, नेपाल पक्ष रहेका अन्तर्राष्ट्रिय सन्धि–महासन्धि तथा विद्यमान कानुनहरूले अपाङ्गता भएका व्यक्तिका आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक अधिकारलाई गम्भीर रूपमा सम्बोधन गरेको प्रधानमन्त्रीले स्मरण गरिन्।
दिवसले अपाङ्गता भएका व्यक्तिको हक, हित, संरक्षण र सुविधाका विषयमा कार्यरत सरकारी–गैरसरकारी संस्था तथा सरोकारवालालाई अझ सक्रिय र उत्तरदायी बन्ने प्रेरणा मिलोस् भन्ने शुभकामना उनले व्यक्त गरेकी छन्।






