जनकपुर — मधेस प्रदेशसभा बैठक आज बिहान साढे ८ बजे बस्दैछ। मुख्यमन्त्री सरोज कुमार यादवले सर्वोच्च अदालतको आदेशअनुसार विश्वासको मत लिन प्रदेशसभा बैठक आह्वान गरेका हुन्। सर्वोच्च अदालतले सोमबार साँझ मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र अनिवार्य रूपमा विश्वासको मत लिन परमादेश जारी गरेको थियो। त्यसपछि यादव आजै प्रदेशसभामा विश्वासको मतका लागि उपस्थित हुँदैछन्।
मधेस प्रदेशसभामा कूल १०७ सदस्य छन्। सरकार टिकाउन कम्तीमा ५४ मत आवश्यक पर्छ। एमालेसँग २५ सांसद छन्, तर तीमध्ये एक जना निलम्बित छन्। नेपाल संघीय समाजवादी पार्टी र राप्रपाका एक–एक सांसद एमाले पक्षमा देखिएका भए पनि राप्रपाले आफ्नी प्रदेश सांसद तथा मन्त्री कञ्चन बिच्छामाथि कारबाही प्रक्रिया अघि बढाइसकेको छ, जसले मत समीकरणमा थप जटिलता देखिएको छ।
यसअघि एमाले नेतृत्वमा संविधानको धारा १६८(३) अनुसार प्रदेश प्रमुख र सभामुखको सहयोगमा सरकार गठन गरिएको थियो। तर सो प्रक्रिया असंवैधानिक भएको भन्दै सातदलीय गठबन्धन सर्वोच्च पुगेको थियो। अब प्रदेशसभा बैठकमा हुने मत परिणामले मुख्यमन्त्री यादवको सरकार टिक्ने–नटिक्ने निर्णायक हुने देखिन्छ।






