काठमाडौँ — दार्चुलाका पूर्वाधार तथा विकासका महत्त्वपूर्ण मुद्दाहरू उठाउँदै लेकम गाउँपालिका अध्यक्ष राम दत्त जोशीको नेतृत्वमा दार्चुलावासीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई ध्यानाकर्षण गराएका छन्। ध्यानाकर्षण पत्रमार्फत अध्यक्ष जोशीले दार्चुलाको समग्र पूर्वाधार, यातायात, ऊर्जा र सीमापार संरचना सम्बन्धी अनेकौँ गम्भीर चुनौतीहरू तत्काल समाधानका लागि सरकारको पहल आवश्यक रहेको उल्लेख गरेका छन्। मन्त्री घिसिङ भेट्न युवा नेता नरबहादुर विष्ट समेत दार्चुलाको प्रतिनिधित्व गर्दै उपस्थित हुनुभएको थियो । अधिवक्ता समेत रहेका नेता बिष्ट दार्चुलाको विकासका लागि चिन्तन गर्ने युवा नेताको रुपमा चिनिन्छन् ।
ध्यानाकर्षणमा तिंकर सडक, अपिहिमाल ट्रेकिङ सडक, लेकमको मैँचुभिर सडक, बिटुले–पारिबगड कालोपत्रे, धन्थला मोटरेबल पुल, साँफे–महाकाली करिडोर (महत्वपूर्ण राष्ट्रिय पूर्वाधार), सेरा–लाली मोटरेबल पुल, तथा दार्चुलाको ग्रामिण विद्युतीकरण विस्तारलाई प्राथमिकतामा राखिएको छ। अध्यक्ष जोशीले यी सबै पूर्वाधारका कारण दार्चुलावासी दैनिक जोखिम, ढुवानी समस्या र सेवाप्राप्तिमा कठोर चुनौतिबाट गुज्रिन बाध्य भएको बताए।
त्यसैगरी, दार्चुलाको सदरमुकाम खलङ्गामा भारतले सीमा क्षेत्रमा निर्माण गर्दै आएको विस्तृत संरचना र गतिविधिबारे पनि अध्यक्ष जोशीले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। उनले सीमाका नजिक भइरहेको एकतर्फी निर्माणले भौगोलिक, सुरक्षा तथा कूटनीतिक प्रभाव पार्ने भन्दै नेपालको आधिकारिक कूटनीतिक च्यानलमार्फत स्पष्ट संवाद आवश्यक रहेको उल्लेख गरे।
अध्यक्ष जोशीले दार्चुलाको भौगोलिक विशिष्टता, सीमावर्ती संवेदनशीलता र पर्यटन–व्यापारका विशाल सम्भावना भएका क्षेत्रहरूलाई दीर्घकालीन राष्ट्रिय प्राथमिकतामा राख्न आग्रह गरे। उनका अनुसार, “दार्चुलाका समस्या स्थानीय इच्छा र प्रयासले मात्र समाधान हुँदैनन्, यी राष्ट्रिय चासो र सरकारी प्राथमिकताबाट मात्र सम्भव हुन्छन्।”
मन्त्री कुलमान घिसिङले दार्चुलाको विकासमा आवश्यक समन्वय र सहकार्य गर्न सरकार प्रतिबद्ध रहेको बताएको स्रोतले जनाएको छ।