एनपीएल: चितवन र जनकपुर तथा पोखरा र कर्णाली आमनेसामने हुँदै

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई रोमाञ्चक खेल हुँदैछन्। पहिलो खेलमा बिहान पौने १२ बजे चितवन राइनोज र जनकपुर बोल्ट्स आमनेसामने हुँदैछन्। चार खेलमध्ये दुई खेल जितेको चितवनले आजको खेल जितेर प्लेअफको दाबीदारी बलियो बनाउन खोजेको छ। चितवनले ४ खेलमा २ जीतसहित ४ अंक जोडेर तालिकाको चौथो स्थान ओगटेको छ। लगातार चार खेलमा हार व्यहोरेर अंकविहीन जनकपुरका लागि भने आजको खेल ‘किर्म हो या मिर्म’ जस्तै बनेको छ। जित निकाल्दै प्लेअफ मौका जिउँदै राख्ने लक्ष्य जनकपुरको छ।

यस्तै आजै दिउँसो ४ बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स भिड्दैछन्। दुवै टोलीका लागि प्लेअफ प्रतिस्पर्धा जोगाउन आजको खेल अत्यन्त महत्वपूर्ण छ। पोखराले ४ खेलमा १ जीतसहित २ अंक जोडेर तालिकाको सातौँ स्थानमा छ। कर्णालीका लागि भने जित अपरिहार्य छ। ५ खेलमा १ जीत र ४ हारसहित २ अंक जोडेको कर्णाली छैटौँ स्थानमा रहेको छ।

प्रतियोगितामा अपराजित रहँदै सुदूरपश्चिम रोयल्स १० अंकसहित प्लेअफमा स्थान बनाउँने पहिलो टोली बनेको छ। त्यस्तै काठमाण्डौ गोर्खाज ६ खेलबाट ८ अंकसहित दोस्रो, विराटनगर ५ खेलबाट ८ अंकसहित तेस्रो र लुम्बिनी लायन्स ४ अंकसहित पाँचौँ स्थानमा छन्। आठ फ्रेन्चाइज टोली सहभागिता रहेको एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु भई २७ गतेसम्म चल्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्