१५ औं महाधिवेशनमा देउवा सक्रिय हुनसक्ने गरी कांग्रेसको औपचारिक निर्णय

काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशन प्रक्रिया अघि बढ्दै गर्दा पार्टी सभापति शेरबहादुर देउवा सक्रिय भूमिकामा फर्कन सक्ने गरी औपचारिक मार्ग खुलेको छ। सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनसम्बन्धी गतिविधिमा देउवालाई आवश्यकताअनुसार संलग्न गराउन सकिने निर्णय गरेको हो।

बैठकले पार्टीलाई कार्यवाहक नेतृत्वमा सञ्चालन भइरहे पनि महाधिवेशन तयारीका विशेष चरणमा केन्द्रीय प्रतिनिधि खटाउने अधिकार सभापति वा कार्यवाहक सभापतिलाई रहने प्रावधान कायम राखेको छ। निर्णयमा भनिएको छ, “१५ औं महाधिवेशनसँग सम्बन्धित कार्यको सिलसिलामा आवश्यकताअनुसार केन्द्रीय प्रतिनिधि पार्टी सभापति/कार्यवाहक सभापतिले खटाउन सक्ने छन्।”

त्यसैगरी, नयाँ तथा नवीकरण क्रियाशील सदस्यताको सूची केन्द्रीय कार्यसमितिमा प्रस्तुत गर्ने अधिकार पनि सभापति देउवा वा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई रहने उल्लेख छ। “केन्द्रीय छानबिन समितिबाट सहमति भई प्राप्त नयाँ र नवीकरण सदस्यताको सूची केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गरी अनुमोदन गरिनेछ,” निर्णयमा उल्लेख छ।

पार्टीले महाधिवेशनका लागि आवश्यक हुने विभिन्न समितिहरू गठन गर्दा पनि आवश्यक परामर्श सभापति देउवा वा कार्यवाहक सभापति खड्काबाट हुने व्यवस्था गरेको छ।

यस निर्णयसँगै देउवा महाधिवेशन तयारीका महत्वपूर्ण चरणहरूमा प्रत्यक्ष रूपमा संलग्न हुनसक्ने संकेत कांग्रेस नेतृत्वको तर्फबाट देखिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्