काठमाडौं । लघुवित्त वित्तीय संस्थाले धितोमा प्रवाह गर्न पाउने कर्जाको अधिकतम सीमा नेपाल राष्ट्र बैंकले वृद्धि गरेको छ। मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले धितोमा अधिकतम १५ लाख रुपैयाँसम्म कर्जा दिन सक्ने प्रावधान गरेको हो । यसअघि यो सीमा ७ लाख रुपैयाँ मात्र थियो।
यसबाहेक, लघुवित्तबाट ऋण लिएका ऋणीहरूले कर्जा भुक्तानीमा भोगिरहेको समस्यालाई ध्यानमा राख्दै भुक्तानी तालिका परिमार्जन गर्न सकिने व्यवस्था पनि मिलाइने राष्ट्र बैंकले जनाएको छ। पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा तरलता प्रशस्त भए पनि कर्जा प्रवाह न्यून देखिएको अवस्थामा लघुवित्तलाई कर्जा सीमा विस्तार गरी कर्जा प्रवाह वृद्धि गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको हो।






