नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका आज टुंगो लाग्न सक्ने

File Photo

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो २ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्दैछ। बैठकमा पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका मुख्य एजेण्डा रहने भएको छ।

पार्टीभित्र नियमित महाधिवेशन र विशेष महाधिवेशनबारे मतभेद कायम रहँदा कार्यबाहक सभापति पूर्णबहादुर खड्काले पटक–पटक छलफल गरे पनि निष्कर्ष ननिस्केपछि सभापति शेरबहादुर देउवा स्वयं पदाधिकारी तथा पूर्वपदाधिकारीहरूसँग परामर्शमा उत्रिएका थिए। देउवा आगामी आमनिर्वाचनअघि नै पार्टीको महाधिवेशन गर्नुपर्ने पक्षमा खुलेर उभिँदै आएका छन्।

असोजको अन्तिम सातादेखि कांग्रेसले लगातार बैठक गर्दै आए पनि महाधिवेशनबारे अन्तिम सहमति बन्न सकेको थिएन। तर विशेष महाधिवेशनको माग फिर्ता भए कार्यतालिका स्वीकार्न सकिने मध्यमागी प्रस्ताव अघि आएपछि र सभापति देउवा पनि निर्वाचनअघि महाधिवेशनका लागि सकारात्मक बनेपछि आजको बैठकबाट नयाँ कार्यतालिका टुंगो लाग्ने सम्भावना बलियो बनेको छ।

यस प्रक्रियालाई तीव्रता दिँदै सभापति देउवाले कार्यबाहक सभापति खड्का र केन्द्रीय सदस्य रमेश लेखकलाई पुस मसान्तभित्र महाधिवेशन गर्ने कार्यतालिका आजको बैठकमा पेस गर्न निर्देशन गरिसकेका छन्।

यता, विशेष महाधिवेशनका मागकर्ता महामन्त्री गगन थापा पनि सभापति, कार्यबाहक सभापतिसहित शीर्ष नेतृत्व सबै इमानदारीपूर्वक लागे पुसभित्र महाधिवेशन सम्भव हुने निष्कर्षमा पुगेका छन्। असोज २९ गते विशेष महाधिवेशन निवेदन दर्ता भएकाले पुस २८ भित्र विशेष महाधिवेशन बोलाउनुपर्ने कानुनी प्रावधान रहेको छ।

पुस २७ गतेदेखि महाधिवेशन सुरु गर्न सकिने सुझावसहितको कार्यतालिका तयार गर्ने गृहकार्य भइरहेको र आजको बैठकमा अन्तिम प्रस्ताव पेस हुने एक नेताको भनाइ छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्