एनपिएलः काठमान्डु गोर्खाज प्लेअफ चरणको नजिक, कर्णाली याक्सलाई कठिन

काठमाडौँ –  सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमान्डु गोर्खाज प्लेअफ चरणको एक कदम नजिक पुगेको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा कर्णाली याक्सलाई ५ विकेटले हराउँदै काठमान्डुले यो सिजनको चौथो जित दर्ता गर्‍यो। जितसँगै काठमान्डु ८ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। अब उसले पोखरा राइनोजसँग अन्तिम खेल खेल्नेछ। सो खेलमा पराजित भए पनि अन्य टिमहरूको नतिजा अनुकूल रहे काठमान्डु शीर्ष चारभित्र परेर प्लेअफ सुरक्षित गर्न सक्ने अवस्थामै छ। काठमान्डु भन्दा तल रहेका विराटनगर किंग्स, चितवन राइनोज र लुम्बिनी लायन्सले मात्र उसलाई पछि पार्ने सम्भावना राख्छन्।

त्यसैगरी कर्णाली याक्सको भने निराशाजनक यात्रा निरन्तर छ। पाँचमध्ये चार खेलमा हार झेलेको कर्णालीले बाँकी दुबै खेल जिते मात्रै प्लेअफको सम्भावना जीवित रहन सक्छ—त्यो पनि अन्य टिमको नतिजामा निर्भर हुने अवस्थामा। पहिले ब्याटिङ गरेका कर्णालीले ७ विकेटमा १४९ रन बनाएको थियो। कर्णालीका गुल्सन झाले उत्कृष्ट प्रदर्शन गर्दै २२ बलमा नटआउट ४९ रन जोडे, जसमा ६ चौका र ३ छक्का समावेश थिए। यद्यपि टोलीले खराब सुरुवात पायो—पहिलो ओभरमै प्रियांक पाञ्चाल र विलियम बोसिस्टो आउट भएपछि दबाबमा परेको कर्णालीलाई मार्क वाट र पवन सर्राफले तेस्रो विकेटका लागि ५८ रनको साझेदारी गर्दै केही उकासेका थिए। सर्राफले ३५ तथा वाटले ३० रन योगदान गरे।

बलिङतर्फ काठमान्डुका रशिद खानले २ विकेट लिँदै ४ ओभरमा ३७ रन खर्चिए। करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले पनि १-१ विकेट हात पारे। लक्ष्य पछ्याउन उत्रिएको काठमान्डुले १८ ओभरमा ५ विकेट गुमाउँदै १५० रन पुर्‍यायो। ओपनर आकाश त्रिपाठी ८ रनमै आउट भए पनि बने चार्ल्सवर्थले २१ बलमा ३४ रन प्रहार गर्दै आक्रामक सुरुवात दिलाए। उनका ३ छक्का विशेष आकर्षण बने।

मिलिन्द कुमार रनआउट हुँदा काठमान्डु केही दबाबमा परेको थियो। तर गेराल्ड इरासमस र जोन सिमसनले चौथो विकेटका लागि ७६ रनको साझेदारी गर्दै टोलीलाई सहज जीततर्फ डोर्याए। सिमसन ४१ रनमा आउट भए भने इरासमस ४३ रनमा नटआउट रहे। कर्णालीका नन्दन यादवले ४ ओभरमा ३५ रन खर्चिँदै ३ विकेट लिएका थिए। यस जितसहित काठमान्डु गोर्खाज प्लेअफको मुख्य दाबेदारको हैसियतमा उभिएको छ भने कर्णाली याक्सको बाँकी खेलहरू अब ‘डु–अर–डाई’ बन्न पुगेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्