काठमाडौँ – कपिलवस्तुको मायादेवी गाउँपालिकामा आर्थिक अनियमितता भएको आरोपमा तत्कालीन तीन प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतहरू रामचन्द्र ढकाल, प्रमेश्वर यादव र कृष्णप्रसाद तिमिल्सना तथा तत्कालीन लेखा अधिकृत प्रकाश गौतम, सिनियर अहेब महेन्द्रप्रसाद यादव, लेखापाल तुल्सीराम पौडेल र लेखा कर्मचारी गिरीराज गौतमलाई प्रतिवादी बनाउँदै आज विशेष अदालतमा मुद्दा दायर गरेको हो।
आयोगका अनुसार उनीहरूले पेश्की रकम फिर्ता नगरी ४६ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको प्रमाण भेटिएको छ। उजुरीको प्रारम्भिक छानबिन, कागजात विश्लेषण र सार्वजनिक स्रोत व्यवस्थापनसम्बन्धी जिम्मेवारीमा देखिएको अव्यवस्थालाई आधार मानेर आयोगले उनीहरूसँग फरक–फरक बिगो असुल–उपर गराउनुपर्ने मागसहित मुद्दा दायर गरेको जनाएको छ।






