काठमाडौं – श्रीलंकामा आएको विनाशकारी बाढीका कारण उत्पन्न मानवीय संकटमा सहानुभूति प्रकट गर्दै नेपाल सरकारले २ लाख अमेरिकी डलर सहयोग गर्ने निर्णय गरेको छ। परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै उद्धार तथा राहतका लागि उक्त सहायता उपलब्ध गराइने जनाएको हो।
विज्ञप्तिमा भनिएको छ, ‘ऐक्यबद्धताको भावनास्वरूप नेपाल सरकारले उद्धार तथा पुनर्स्थापनाका लागि दुई लाख अमेरिकी डलरको सहयोग गर्ने निर्णय गरेको छ। यस विपत्तिबाट उठ्न श्रीलंकाली जनतामा रहेको दृढता र सहनशीलताप्रति नेपाल सरकार र नेपाली जनता पूर्ण विश्वास व्यक्त गर्छ।’
नेपाल सरकारले बाढीका कारण श्रीलंकाले व्यहोरेको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। एक सातादेखि जारी भारी वर्षापछि आएको बाढीले श्रीलंकामा ठूलो जनधनको क्षति पुगेको छ। अहिलेसम्म १९३ जनाको मृत्यु, २०० जना बेपत्ता, र २० हजारभन्दा बढी घरधुरीमा क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। नेपाल सरकारको यो सहयोग तत्कालीन उद्धार–राहत कार्यमा महत्वपूूर्ण टेवा पुग्ने अपेक्षा व्यक्त गरिएको छ।






