काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज काठमाडौँ गोर्खाज र कर्णाली याक्स आमनेसामने हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा हुने खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। अङ्कतालिकामा काठमाडौँ गोर्खाज ५ खेलबाट ३ जित र २ हारसहित ६ अङ्क जोड्दै तेस्रो स्थानमा रहेको छ। कर्णाली याक्स भने ४ खेलमा १ जित र ३ हारसहित २ अङ्कमा रहँदै छैटौँ स्थानमा छ। दुवै टोलीका लागि प्ले अफको ढोका अझै खुला रहेको छ।
हिजो सम्पन्न खेलमा लगातार पाँच खेल जित्दै सुदूरपश्चिम रोयल्स प्ले अफमा प्रवेश गर्ने पहिलो टोली बनेको थियो। साविक विजेता जनकपुर बोल्ट्सलाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिमले उत्कृष्ट प्रदर्शन कायम राख्यो। यस सिजन जनकपुरले एक खेल पनि जित्न नसकेपछि अङ्कतालिकाको पुछारमा रहेको छ।
यस्तै, लुम्बिनी लायन्सले हिजोको खेलमा पोखरा एभेञ्जर्सलाई २ विकेटले हराउँदै प्ले अफको आशा जिउँदो राखेको छ। ५ खेलबाट ४ अङ्क जोडेको लुम्बिनी तालिकाको पाँचौँ स्थानमा छ। अङ्कतालिकामा विराटनगर दोस्रो, चितवन चौथो र पोखरा सातौँ स्थानमा छन्।
आठ फ्रेन्चाइज टोली सहभागी रहेको दोस्रो संस्करणको एनपीएल मङ्सिर १ गतेदेखि सुरु भएको हो। यो प्रतियोगिता मङ्सिर २७ गतेसम्म चल्नेछ।






