पुस मसान्तभित्र नियमित महाधिवेशन गर्न देउवा तयार

काठमाडौं । महाधिवेशनको मिति टुंग्याउने विषयमा उत्पन्न भएको आन्तरिक किचलो बढ्दै जाँदै गर्दा नेपाली कांग्रेसको आइतबारका लागि तय गरिएको केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित भएको छ। सभापति शेरबहादुर देउवाको महाराजगञ्ज निवासमा शीर्ष नेताहरूबीच भएको लामो छलफल निष्कर्षविहीन भएपछि बैठक पर्सि सोमबारका लागि सारिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

महाधिवेशन कहिले गर्ने भन्ने विषयमा कांग्रेसभित्र मतभेद झन् तीव्र बन्दै गएको छ। सभापति देउवा पुस मसान्तभित्र नियमित महाधिवेशन गर्न तयार देखिएका छन् भने नेताहरूबीच यसबारे स्पष्ट सहमति बन्न सकेको छैन। शनिबारको छलफलमा देउवाले विशेष महाधिवेशन आवश्यक नभएको भन्दै नियमित महाधिवेशनमै जाने प्रस्ताव राखेको कांग्रेस स्रोतले जनाएको छ।

छलफलमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, शेखर कोइराला, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, रमेश लेखक, गगन थापा तथा विश्वप्रकाश शर्मा सहभागी थिए। महामन्त्री गगन थापाले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिमा विशेष महाधिवेशन नै आवश्यक रहेको आग्रह दोहोर्‍याएका छन्।

यता नेताहरू रमेश लेखक, शेखर कोइराला र विश्वप्रकाश शर्माले पुसमै नियमित महाधिवेशन गर्न सकिने धारणा राखे पनि विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाले पुसमा समय अपुग हुने तर्क गर्दै निर्वाचनपछि मात्र महाधिवेशन गर्नुपर्ने अडान दोहोर्‍याए।

निधि र सिटौलाका अनुसार फागुन २१ मा हुने निर्वाचनका लागि उम्मेदवार छनोट, तयारी र प्रचार–प्रसारका कारण पुसमा महाधिवेशन सम्भव छैन। नेताहरूबीच सहमति नजुटेपछि आइतबार बस्ने भनिएको बैठक पनि स्थगित भएको छ।

कांग्रेसभित्र महाधिवेशन मितिका विषयमा सहमति जुट्न नसक्दा पार्टीको आन्तरिक विवाद झनै चर्कँदै गएको देखिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्