काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले उत्कृष्ट प्रदर्शन गर्दै लगातार पाँच खेल जित्दै प्लेअफमा प्रवेश गरेको छ। शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले साविक विजेता जनकपुर बोल्ट्सलाई ६ विकेटले पराजित गरेको हो।
जनकपुरले प्रस्तुत गरेको १ सय ४६ रनको लक्ष्य सुदूरपश्चिमले १७ ओभर ४ बलमै ४ विकेटको क्षतिमा भेटायो। टिमका इसान पाण्डेले ५६ रनको धमाकेदार अर्धशतक प्रहार गरे भने बिनोद भण्डारीले ४२ रन जोडे। बलिङतर्फ जनकपुरका माज सदक्वटले २ विकेट लिए भने सञ्जय कृष्णमूर्ति र आदित्य महतासँग १–१ विकेट रह्यो।
यसअघि टस जितेर ब्याटिङ गरेको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको थियो। जनकपुरका सञ्जय कृष्णमूर्तिले ५० रन र जेन निकोल लफ्टि इटनले ३९ रनको योगदान दिए। सुदूरपश्चिमका अविनाश बोहराले ४ विकेट, स्कट कुग्गेलिजनले ३ विकेट र दीपेन्द्र सिंह ऐरीले १ विकेट हात पारे।
यो जितसँगै सुदूरपश्चिम रोयल्स ५ खेलबाट १० अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। लगातार चौथो खेलमा पराजित जनकपुर बोल्ट्स भने तालिकाको पुछारमा रहेको छ।
आठ फ्रेन्चाइज टोली सहभागी रहेको एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु भएको हो, जसको समापन यही २७ गते हुने छ।






