दुई तिहाइ पाएर पनि ओलीले हेलिकोप्टर चढेर भाग्नु पर्‍यो: प्रचण्ड

File Photo

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाव जितेर मात्र परिवर्तन सम्भव नहुने बताएका छन्। दाङको देउखुरीमा आयोजित एकता सन्देशसभालाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै कटाक्ष गरे।

प्रचण्डले विगतमा कांग्रेस–एमाले गठबन्धनले दुई तिहाइ बहुमत पाउँदा पनि स्थिरता र जनअपेक्षा अनुसारको काम हुन नसकेको दाबी गरे। उनले भने, ‘चुनाव जितेर मात्रै केही हुँदो रहेनछ। कांग्रेस र एमालेको दुई तिहाइ थियो, के नाप्यो त्यो दुई तिहाइले? अन्त्यमा त हेलिकोप्टर चढेर भाग्नु पर्‍यो।’

उनले साम्राज्यवादविरुद्धको लडाइँ र जनताको पक्षमा उठाइएका मुद्दाहरूकै आधारमा १५ वाम घटकबीच एकता भएको बताएका छन्। प्रचण्डका अनुसार संसदमा दुई तिहाइको अभिमानले भ्रष्टाचारलाई संरक्षण दिएको कारण जनतामा असन्तोष बढेको थियो।

आफू नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध र सामाजिक न्यायका पक्षमा लड्दा पदच्युत गरिएको दाबी गर्दै उनले भने, ‘हामी सरकारबाट हटाइएका हौं, किनकि हामी भ्रष्टाचारको विरुद्ध लड्दै थियौं। जनताले सबै कुरा देखिरहेका छन्, कुनै दिन यिनै जनताले प्रतिक्रिया जनाउनेछन् भनेर पहिले नै चेतावनी दिएको थिएँ, नभन्दै त्यही भयो।’

जेनजी आन्दोलनमा भएको विध्वंस प्रचण्डकै निर्देशनमा भएको भनी एमाले अध्यक्ष ओलीले लगाएको आरोपको पनि प्रचण्डले कडा खण्डन गरे। उनले ओलीको ‘दम्भ अझै हटेको छैन’ भन्दै आरोपहरू आफूलाई होइन, आफ्नै कुकर्मले जन्माएको टिप्पणी गरे।

प्रचण्डले नेतृत्व गरेको एकता प्रक्रियाले वाम राजनीति जनतामुखी दिशामा अघि बढ्ने विश्वास पनि व्यक्त गरे।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्