मध्यपहाडी सडक सुधार प्राथमिकतामा राख्न नागरिकको जोड, मन्त्री घिसिङलाई ध्यानाकर्षण

काठमाडौं – राजधानीमा बसोबास गर्दै आएका गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाका नागरिकले आफ्ना स्थानीय समस्या र विकास–निर्माणका मुद्दामा नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात, उर्जा, जलश्रोत तथा सिँचाइ एवं सहरी विकास मन्त्री कुलमान घिसिङलाई ध्यानाकर्षण गराएका छन्।

ध्यानाकर्षण पत्रमार्फत नागरिकहरूले मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ–बिहुँ खण्ड लामो समयसम्म कालोपत्रे हुन नसकेको, अन्तर्राष्ट्रिय गलकोट मुर्ति क्लाससम्म कालोपत्रे सडक विस्तार, गलकोट–ताराखोला यातायात सहज बनाउने, निशुल्क एम्बुलेन्स सेवा सञ्चालन, गलकोट नगर अस्पतालका लागि थप भवन निर्माण गर्न बजेट विनियोजन आवश्यक रहेको र स्थानीय तहको क्षमताले नपुगेका खानेपानी योजनामा संघीय सरकारमार्फत सहयोग उपलब्ध गराउनुपर्ने माग राखेका छन्।

त्यसैगरी गलकोट नगरपालिका–७ को वडा कार्यालय भवन निर्माणका लागि बजेट टुंग्याउने, गल्याङ–पचुवा मोटरेबल पुल निर्माण कार्यले निरन्तरता नपाएको विषयमा चासो देखाइएकाे, पर्यटन तथा पर्यावरणीय क्षेत्रमा दिगोपनासहित गुणस्तरीय विकास कार्य आवश्यक रहेको उल्लेख गरिएको समाजसेवी मिलन केसीले जानकारी दिए।

मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्डले अपेक्षित गति लिन नसक्दा पर्यटन प्रभावित भएको भन्दै ध्यानाकर्षण गराइएको गलकोट नगरपालिका–७ का वडा अध्यक्ष राजबहादुर थापाले बताए।

ध्यानाकर्षण पत्र ग्रहण गर्दै मन्त्री कुलमान घिसिङले उठाइएका माग तथा समस्यालाई सम्बोधन गर्न सम्बन्धित निकायलाई शीघ्र निर्देशन दिने प्रतिबद्धता व्यक्त गरेकाे घुम्टे विकास मञ्च काठमाडौंका अध्यक्ष प्रशान्त ढकालले जानकारी दिए। मन्त्री घिसिङले नागरिकसँग सहकार्य गर्दै समस्याको समाधानतर्फ अघि बढ्ने विश्वास पनि व्यक्त गरेका छन्।

कार्यक्रममा गलकोट घुम्टे विकास मञ्च काठमाडौं, बागलुङ गलकोट महिला समूह काठमाडौं, गलकोट समाज काठमाडौं, ताराखोला समाज काठमाडौं, बागलुङ समाज भक्तपुरका प्रतिनिधिहरू, जनप्रतिनिधि, समाजसेवी तथा सरोकारवाला उपस्थित थिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्