काठमाडौं – कांग्रेस महाधिवेशनको कार्यतालिका टुंगोमा नपुगेपछि सभापति शेरबहादुर देउवाले शुक्रबार शीर्ष नेताहरूसँग लामो अनौपचारिक छलफल गरेका छन्। दिउँसो देउवा निवासमा बसेको बैठक साँझसम्म चले पनि कुनै ठोस सहमति बन्न सकेन। छलफलमा देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेता रमेश लेखक सहभागी थिए। महाधिवेशन कहिले गर्ने भन्ने विषयमा नेताहरूबीच विभिन्न प्रस्ताव उठे पनि साझा धारणा बन्न नसकेको सहभागीहरूले बताएका छन्।
कांग्रेसभित्र फागुन २१ को आम निर्वाचनअघि महाधिवेशन गर्ने कि पछि, नियमित गर्ने कि विशेष भन्नेबारे गहिरो मतभेद देखिएको छ। सहमहामन्त्री महेन्द्र यादव, उमाकान्त चौधरी, पूर्वउपसभापति निधि, पूर्वमहामन्त्री सिंह, सिटौला र प्रवक्ता महत ‘वैशाखमा नियमित महाधिवेशन’ गर्ने पक्षमा छन्। तर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पुस १६–१९ भित्र नियमित महाधिवेशन गर्न नसकिए पार्टी विधानअनुसार ‘विशेष महाधिवेशन’ गर्नैपर्ने अडानमा छन्। पुसमै महाधिवेशन गर्ने प्रस्ताव देउवा पक्षबाट उठे पनि थापा–शर्मा पक्षले त्यसमा विश्वास गर्न नसकेको बताइएको छ, किनकि “कार्यतालिका पुसमा ल्याएर पछि बहानामा वैशाखमा सार्ने सम्भावना” रहेको उनीहरूको आशंका छ।
उता विशेष महाधिवेशनको माग राख्दै ५४% महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाएको समूहलाई औपचारिक छलफलमा नबोलाइएको भन्दै असन्तुष्टि बढेको छ। विधानअनुसार पुस २८ भित्र विशेष महाधिवेशन गर्नुपर्ने उनीहरूको अडान छ। यतिबेला देउवा पक्षभित्र पनि मतभेद देखिएको छ। केही केन्द्रीय सदस्यले निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने दाबी गर्दै भेला गरेका छन् भने केहीले पुसमै कार्यतालिका ल्याउनुपर्ने सुझाव दिएका छन्। लगातारको मतभेदका बीच देउवा नेतृत्वले चाँडै सबै पक्षसँग पुनः छलफल गरी कार्यतालिका टुंगोमा पुर्याउने बताएको छ।






