काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्ग्सले कर्णाली याक्सलाई ३ विकेटले पराजित गर्दै महत्वपूर्ण जीत हात पारेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको १६१ रनको लक्ष्य विराटनगरले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर भेटायो।
विराटनगरका तर्फबाट बसिर अहमदले अविजित ६२ रनको महत्वपूर्ण पारी खेले भने नारायण जोशीले २५ रन जोडे। कर्णालीका सोमपाल कामी र गुलशन झाले दुई–दुई विकेट लिए भने पवन सर्फ, विलियम बोसिस्टो र नन्दन यादवले एक–एक विकेट हात पारे।
यसअघि टस जितेर ब्याटिङ थालेको कर्णाली याक्सले २० ओभरमा ३ विकेट गुमाउँदै १६० रन बनाएको थियो। कर्णालीका प्रियांक पाञ्चालले ४७ बलमा ६३ रन बनाए भने विलियम बोसिस्टोले ४८ बलमा नटआउट ४८ रनको योगदान दिए। विराटनगरका कप्तान सन्दीप लामिछाने र मर्चेन्ट डे लाङ्गेले एक–एक विकेट लिए।
यो जितसँगै विराटनगर किङ्ग्स पाँच खेलमा ८ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने कर्णाली याक्स चार खेलमा २ अंकसहित पाँचौं स्थानमै छ।
यसअघि भएको आजको पहिलो खेलमा काठमान्डु गोर्खाजले चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै एनपीएलमा तेस्रो जीत दर्ता गरेको छ।
यस वर्षको एनपीएलमा आठ फ्रेन्चाइज टोली सहभागी छन्। मंसिर १ गतेबाट सुरू भएको दोस्रो संस्करण यही २७ गतेसम्म चल्नेछ।






