अर्किड आईडल गायन प्रतियोगिताको ११औं संस्करण सुरु, ७० जना दोस्रो चरणमा

काठमाडौँ — अर्किड प्युपल सेकेन्डरी स्कुलले आयोजना गरेको अर्किड आइडलतर्फ गायन प्रतियोगिताको ११औं संस्करण भव्य रूपमा सुरु भएको छ। विद्यालय प्राङ्गणमा सम्पन्न प्रारम्भिक छनोट (क्वालिफाइङ राउन्ड) मा कुल १०० जना विद्यार्थी सहभागी भएका थिए, जसमध्ये ७० जना उत्कृष्ट प्रतिभा दोस्रो चरणका लागि छनोट भएका छन्। प्रतियोगिताले विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने, आत्मविश्वास अभिवृद्धि गर्ने तथा सह–शैक्षिक गतिविधिमा सक्रिय बनाउने उद्देश्यपूवर्क सञ्चालन हुँदै आएको विद्यालयले जनाएको छ।

विद्यालयका सञ्चालक निर्देशक प्रेमकुमार भुजेलले गायन प्रतियोगिताले विद्यार्थीहरूको मञ्च प्रस्तुति, कलात्मक क्षमता र अनुशासनमा उल्लेखनीय सुधार ल्याउने भएकाले यसलाई प्रत्येक वर्ष निरन्तरता दिइएको बताउनुभयो। उहाँका अनुसार, “विद्यार्थीहरूको उत्साह, तयारी र प्रस्तुति यस वर्ष विशेष रूपमा प्रशंसनीय छ। यसले उनीहरूको संगीतप्रतिको लगाव र आत्मविश्वास झनै बलियो बनाएको छ।”

विद्यालयका प्रिन्सिपल सीबी कार्कीले प्रतियोगिता विद्यालयको गुणस्तरीय सह–शैक्षिक कार्यक्रमको प्रभावकारी उदाहरण रहेको बताउँदै, विद्यार्थीहरूले सहभागी भएर देखाएको प्रतिबद्धता र लगनले विद्यालयको सिर्जनात्मक वातावरण थप समृद्ध भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “विद्यार्थीहरूको अनुशासन, प्रस्तुति र मेहनत साँच्चिकै प्रशंसनीय छ, यसले भविष्यमा उनीहरूलाई कुनै पनि मञ्चमा आत्मविश्वासपूर्वक उभ्याउनेछ।”

विद्यालय संयोजक नरेन्द्र प्रसाद पाण्डेयले १०० प्रतिस्पर्धीमध्ये ७० जना चयन गर्नु निकै चुनौतीपूर्ण रहेको बताउँदै, निर्णायकहरूले मापदण्डअनुसार नै पूर्ण पारदर्शिताका साथ मूल्याङ्कन गरेको जानकारी दिनुभयो। उहाँले दोस्रो राउन्ड झनै प्रतिस्पर्धात्मक र रोचक हुने अपेक्षा व्यक्त गर्नुभयो।

विद्यालयका अनुसार दोस्रो राउन्ड आगामी शुक्रबार सञ्चालन हुनेछ भने ग्रान्ड फिनाले त्यसपछिको शुक्रबार आयोजना गरिनेछ। गायन प्रतियोगिताको ११औं संस्करण विद्यार्थीहरूको सिर्जनात्मकता, प्रतिस्पर्धी भावना र संगीतप्रतिको रुचि अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलिरहेको विद्यालयले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्