काठमाडौं – जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी गरेको आरोपमा नेपाल ल क्याम्पसका पूर्वस्ववियू सभापति विष्णु ढुंगेल पक्राउ परेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ। ढुंगेल पूर्वमाओवादी पार्टीसँग आबद्ध रहेको बताइन्छ। सर्वोच्च अदालत जलाइएका समयमा उनी घटनास्थलमा उपस्थित रहेको प्रमाण भेटिएपछि उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको हो।
यसअघि सर्वोच्च अदालतमा आगजनी प्रकरणमा पाँच जनालाई पक्राउ गरिसकिएको थियो। ढुंगेल पक्राउ परेसँगै पक्राउ पर्नेको संख्या ६ पुगेको छ। घटनामा संलग्न व्यक्तिहरूलाई खोजी, नियन्त्रण र अनुसन्धान गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय तथा जिल्ला प्रहरी परिसर काठमाडौंले संयुक्त रूपमा विशेष अपरेशन सञ्चालन गरिरहेका छन्।






