काठमाडौँ – लगातार दुई दिन उच्च अंकले उकालो लागेको शेयर बजार आज भने सामान्य रूपमा मात्र बढेको छ। शेयर बजार परिसूचक नेप्से आज ५.३२ अंकले वृद्धि भइ २,६५५.९९ विन्दुमा पुगेको छ।
विकास बैंक, जीवन बीमा, म्युचुअल फन्ड र व्यापार समूहबाहेक बाँकी सबै समूह हरियालीमा बन्द भएका छन् भने होटल र उत्पादन समूहका सूचकहरू १ प्रतिशतभन्दा बढीले उकालो लागेका छन्।
आज १२२ कम्पनीको शेयर मूल्य बढेको छ भने १२५ कम्पनीको घटेको छ, त्यस्तै १० कम्पनीको मूल्य स्थिर रहेको बजारमा देखिएको छ। झापा इनर्जी, सागर डिस्टिलरी र श्रीनगर एग्रीटेक इन्डस्ट्रिजको शेयर १० प्रतिशतले वृद्धि भई सर्वाधिक बढ्ने कम्पनी बनेका छन्, जबकि जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर करिब ५ प्रतिशतले घटेर आजको दिन सबैभन्दा धेरै ओरालो लागेको कम्पनी बनेको छ।
नेप्से सूचक वृद्धि भए पनि कुल कारोबार रकम भने घटेको छ। हिजो ७ अर्ब ३ करोड रुपैयाँ बराबरका शेयर किनबेच भएकोमा आज ३१९ कम्पनीका १ करोड १९ लाख कित्ता शेयर मात्र ५ अर्ब ८२ करोड रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।






