काठमाडौँ – आगामी फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुन हालसम्म कूल ६४ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन्।
आइतबारसम्म ५६ दल दर्ता भएका भए पनि सोमबार थप आठ राजनीतिक दलको दर्तासँगै दर्ता संख्या ६४ पुगेको आयोगले जनाएको छ। मंसिर १ गते १२, मंसिर २ गते पाँच, मंसिर ३ गते आठ, मंसिर ४ गते आठ, मंसिर ५ गते सात र मंसिर ७ गते १६ राजनीतिक दल दर्ता भएका थिए। सोमबार दर्ता भएका दलहरूमा नागरिक शक्ति नेपाल, नागरिक उन्मुक्ति पार्टी, मितेरी पार्टी नेपाल, प्रगतिशील समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी), तराई–मधेस लोकतान्त्रिक पार्टी, राष्ट्रिय समुन्नति पार्टी र जनादेश पार्टी, नेपाल रहेका छन्।
आयोगका अनुसार आयोगमा दर्ता भएका कूल १३५ राजनीतिक दलमध्ये निर्वाचन प्रयोजनका लागि पुनःआवेदन अनिवार्य हुन्छ, र सोही अनुसार बुधबारसम्म पुनःआवेदन प्रक्रिया पूरा गर्न दलहरूलाई आग्रह गरिएको छ।







