काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा पहिलो हुने निर्वाचित प्रणाली तर्फ उम्मेदवारी दिने व्यक्तिलाई अब सम्पत्ति विवरण र वैयक्तिक विवरण अनिवार्य रूपमा पेस गर्नुपर्नेछ। निर्वाचन आयोगले राजनीतिक दलहरूलाई राय–सुझावका लागि पठाएको नयाँ निर्वाचन आचारसंहितामा यस्तो प्रावधान समावेश गरिएको हो।
आचारसंहिताको बुँदा नम्बर १९ अनुसार उम्मेदवारले मनोनयन पत्रसँगै आयोगले तोकेको ढाँचामा तयार पारिएको सम्पत्ति विवरण शिलबन्दी रूपमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनुपर्नेछ। पेस गरिएको सम्पत्ति विवरण मत परिणाम सार्वजनिक नभएसम्म गोप्य रूपमा सुरक्षित राखिनेछ।
उम्मेदवार विजयी भएमा, आयोगले तोकेको प्रक्रियाअनुसार उक्त सम्पत्ति विवरण उमेदवारको सहमतिको आधारमा सार्वजनिक गरिने छ। पराजित उम्मेदवारले भने आयोगले माग गरेमा विवरण फिर्ता पाउनेछन्। फिर्ता नलिएको विवरण आयोगले अभिलेखीकरण गरिनेछ।
यस्तै, बुँदा नम्बर २० मा वैयक्तिक विवरण सम्बन्धी व्यवस्था छ। मनोनयन दर्ताका बेला उम्मेदवारले नाम, थर, ठेगाना, शैक्षिक योग्यता, अनुभव तथा चाहेको अन्य अतिरिक्त विवरण उल्लेख गरिएको फाराम पनि अनिवार्य रूपमा बुझाउनुपर्नेछ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि निर्वाचन अधिकृतको कार्यालयले सो विवरण सार्वजनिक गर्नेछ र आयोगलाई पठाइनेछ। आयोगले निर्वाचन क्षेत्रअनुसार एकीकृत विवरण तयार गरी आयोगको वेबसाइटमा सार्वजनिक गर्नेछ।
निर्वाचन प्रक्रियामा पारदर्शिता र उत्तरदायित्व बढाउन आयोगले आचारसंहितामा यी व्यवस्थाहरू थप कडाइका साथ समावेश गरेको बताइएको छ।






