काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको वर्तमान सरकारलाई संवैधानिक अधिकारविहीन भन्दै कडा आलोचना गरेका छन्। शनिबार काठमाडौंमा आयोजित जनप्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै ओलीले सरकार स्वयं वैधता संकटमा परेको दाबी गरे।
ओलीले प्रधानमन्त्री कार्कीसँग ‘चुनाव गराउने अधिकारसम्म नभएको’ जिकिर गर्दै सरकार ‘अराजक गतिविधिबाट’ बनेको आरोप लगाए।
“तपाईंसँग चुनाव गराउने पनि अधिकार छैन,” ओलीले सभामा भने।उनका अनुसार आगजनी, लुटपाट र विध्वंस मच्चाउँदै सत्ता कब्जा भएको आरोप वर्तमान सरकारमाथि छ।
“अहिले शासन विधिको त कुरा छाडिदिऔँ, व्यक्ति नै अनधिकृत छ। उत्पातबाट सिर्जना भएको सरकार बनेको छ। यही हो लोकतन्त्र ? तपाईंहरू लोकतन्त्रमा विश्वास गर्नुहुन्छ कि हुन्न बताउनुस्?” ओलीको प्रश्न थियो।
ओलीले देशमा राजनीतिक स्थिरता, कानुनी शासन र वैध सरकारको आवश्यकता रहेको भन्दै लोकतान्त्रिक प्रक्रियाको सम्मान गर्न सबैलाई आह्वान गरे।






