काठमाडौँ – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत शनिबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा एकैदिन दुई खेल हुने भएको छ। प्रतियोगिता सुरु भएसँगै दैनिक एक खेल मात्र हुँदै आएकोमा आज भने बिहान र दिउँसो गरी दुई खेल खेलाइने कार्यक्रम तय गरिएको हो।
पहिलो खेल बिहान ११:१५ बजे हुनेछ, जहाँ कर्णाली याक्स ले लुम्बिनी लायन्स को सामना गर्नेछ। दुवै टोलीको यो दोस्रो खेल हो।
कर्णालीले आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग ४ विकेटले पराजय बेहोरेको थियो, जबकि लुम्बिनीले यही चितवनलाई ६ विकेटले हराउँदै विजयी सुरुआत गरेको थियो। लुम्बिनी टोलीको नेतृत्व राष्ट्रिय कप्तान रोहित पौडेल ले गरिरहेका छन्।
दोस्रो खेल दिउँसो ३:३० बजे हुनेछ। यसमा काठमाडौं गोर्खाज र विराटनगर किंग्स भिड्नेछन्।
काठमाडौंले पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको भए पनि दोस्रो खेलमा सुदूरपश्चिमसँग हार बेहोरेको थियो। काठमाडौंको नेतृत्व करण केसी ले गरिरहेका छन्।
विराटनगरले यसअघि पोखरालाई ५३ रनले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको थियो। यस क्रममा विराटनगरले एनपीएलको अहिलेसम्मकै ठूलो स्कोर २२० रन बनाएको थियो। टोलीको कप्तानी सन्दीप लामिछाने ले सम्हालेका छन्।
शनिबारका खेल हेर्न दर्शकका लागि टिकट मूल्य प्रिमियमतर्फ रू. १,५०० र साधारणतर्फ रू. ५०० तोकिएको छ। अन्य दिन प्रिमियम टिकट रू. १,००० पर्नेछ।






