काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत शुक्रबार सम्पन्न खेलमा सुदूरपश्चिम रोयल्सले उत्कृष्ट प्रदर्शन गर्दै पोखरा एभेन्जर्सलाई १९४ रनको चुनौती दिएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १९३ रन जोड्यो। खेलको १५ ओभरमा १६०–२ को बलियो अवस्थामा रहे पनि अन्तिम चरणमा फिनिसिङ कमजोर हुँदा अन्तिम ५ ओभरमा मात्र ३३ रन जोड्दै ५ विकेट गुमायो।
सुदूरका जोश ब्राउनले ३५ बलमा ६ चौका र ५ छक्कासहित सर्वाधिक ६८ रनको आकर्षक पारी खेले। त्यस्तै, विनोद भण्डारीले ४२ बलमा ४३ रनको योगदान दिए।
बलिङतर्फ पोखरा एभेन्जर्सका जिमी नीशमले ३ विकेट लिए भने डान डौथवेट र आकाश चन्दले २–२ विकेट हात पारे।
अब पोखराले जितका लागि १९४ रनको लक्ष्य पछ्याउनु पर्नेछ।






