चुनावका लागि अनुकूल वातावरण बनाउन राजनीतिक दलको आग्रह

प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारमा आज आह्वान गर्नुभएको सर्वदलीय बैठकमा सरकारको कामकारवाही र आगामी निर्वाचनको तयारीबारे भएको छलफलमा निर्वाचन आयोगमा दर्ता भएका १२५ दलहरू नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी र नेकपा(एमाले) लगायत विभिन्न दलका नेताहरु। तस्बिरः गोपाल दाहाल÷रासस

काठमाडौं – विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले सरकारले चुनावका लागि उपयुक्त वातावरण बनाउन आवश्यक कदम चाल्न आग्रह गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीले हिजो सिंहदरबारमा बोलाएको सर्वदलीय बैठकमा सहभागी दलका नेताहरूले सुरक्षित र विश्वासिलो माहोल निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

बैठकपछि नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस चुनावका लागि पूर्ण तयारी अवस्थामा रहे पनि विश्वासिलो वातावरण नबनेको बताउनुभयो। “सरकारका गतिविधिले विश्वास जगाउन सकेको छैन,” उहाँले टिप्पणी गर्दै निर्वाचनका लागि आवश्यक आधारभूत तयारी अधुरो रहेको धारणा व्यक्त गर्नुभयो।

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पनि सरकारले चुनावमैत्री वातावरण बनाउन नसकेको आरोप लगाउनुभयो। ज्ञवालीले आन्दोलनका क्रममा लुटिएका हतियार अझै फेला नपर्नु र फरार कैदी पक्राउ नपर्नु सुरक्षा चुनौतीको सूचक भएको बताउँदै शान्ति–सुरक्षामा जोखिम उत्पन्न हुन सक्ने आशङ्का व्यक्त गर्नुभयो।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश पराजुलीले रास्वपा चुनाव केन्द्रित तयारीमा जुटिरहेको जानकारी दिँदै सरकारले चुनावका लागि आवश्यक पूर्वाधार बनाउनेतर्फ चाँडो कदम चाल्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

बैठकमा प्रधानमन्त्री कार्कीले आउँदो फागुन २१ गतेका लागि तोकिएको निर्वाचन राष्ट्रलाई संवैधानिक अनिश्चितताबाट जोगाउने एक मात्र वैधानिक निकास भएको बताउनुभयो। उहाँले सबै दललाई जिम्मेवार ढंगले र समयमै चुनावी प्रक्रियामा सहभागी हुन आग्रह गर्दै निर्वाचन सम्पन्न गर्नु सरकारको संवैधानिक दायित्व र नागरिकप्रतिको राजनीतिक प्रतिबद्धता भएको पुनः स्पष्ट पार्नुभयो।

युवाहरूको आक्रोशलाई मतपत्रमार्फत सकारात्मक ऊर्जामा रूपान्तरण गर्ने सरकारको चाहना रहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले सडक आन्दोलनलाई नीति निर्माणतर्फ डोर्याउनुपर्ने जोर दिनुभयो। साथै, आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाको निष्पक्ष र द्रुत अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउने सरकारको अडान दोहोर्‍याउनुभयो।

तस्बिर: रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्