काठमाडौं – हिजो दिनभर तनाबग्रस्त बनेको बाराको सिमराको अवस्था क्रमशः सामान्य बन्दै गएको छ। गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै स्थानीय प्रशासनले शान्ति–सुरक्षा कायम गर्न आवश्यक कदमहरू सक्रिय रूपमा अघि बढाइरहेका कारण स्थिति सुधारोन्मुख रहेको जनाएको छ।
विज्ञप्तिमा वर्तमान सरकार देशभर शान्ति व्यवस्था सुनिश्चित गर्दै तोकिएको समयमै निर्वाचन सम्पन्न गराउने प्रतिबद्धतामा दृढ रहेको उल्लेख छ। सिमरामा भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै गृह मन्त्रालयले कुनै पनि कार्यक्रम शान्तिपूर्ण ढंगले सञ्चालन गर्न सबै पक्षलाई आग्रह गरेको छ।
यसबाहेक, सम्पूर्ण पक्षले आफ्ना गतिविधि सञ्चालन गर्नु अघि स्थानीय प्रशासनसँग समन्वय गर्न अनुरोध गर्दै अभिव्यक्ति राख्दा गम्भीर र जिम्मेवार हुन मन्त्रालयले आह्वान गरेको छ।
हिजो एमाले कार्यकर्ता र जेन–जी समूहबीच झडप भएपछि सिमरामै स्थिति तनावपूर्ण बनेको थियो। त्यसपछि सिमरा विमानस्थल बन्द गरिएको थियो भने दिउँसो १२:३० बजेदेखि बेलुकी ८ बजे सम्म कर्फ्यु लागू गरिएको थियो।






