काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूसँगको छलफलमा देशको वर्तमान अवस्था, सरकारको उद्देश्य र आगामी योजनाबारे स्पष्ट धारणा राखेकी छन्। १२५ मध्ये ११० भन्दा बढी दलको उपस्थिति रहेको उक्त भेलामा उनले पछिल्लो समय देशमा देखिएको असन्तुष्टि, निराशा र भ्रष्टाचारकै कारण ठूलो घटना घट्न पुगेको स्वीकार गर्दै नयाँ पुस्ताको आक्रोशलाई सम्बोधन गर्दै सरकार अघि बढिरहेको बताइन्।
“जेनजीहरू अत्यन्तै उग्र र आक्रोशित थिए। उनीहरूको आवाज सुन्ने र मत्थर पार्नु नै हाम्रो पहिलो प्राथमिकता बनायौँ, जसले सडकमा उत्रिने अवस्थालाई रोक्यौँ,” प्रधानमन्त्री कार्कीले भनिन्।
न्यायिक पृष्ठभूमिका व्यक्तिहरू भए पनि राष्ट्र संकटमा परेका कारण नेतृत्व जिम्मेवारी लिएको बताउँदै उनले, “हामी चुनाव गराउनै आएका हौँ। यो देश अब नयाँ पुस्ताको हातमा जाओस्,” भन्दै निष्पक्ष निर्वाचन नै आफ्नो सरकारको मुख्य उद्देश्य भएको स्पष्ट पारिन्।
उनले ऊर्जा क्षेत्रका सुधारक कुलमान घिसिङ र आविष्कारक महावीर पुन जस्ता व्यक्तिलाई सरकारमा ल्याएको उदाहरण दिँदै प्रशासन र सुरक्षांगको मनोबल उठाउन ठोस कदम चालिएको उल्लेख गरिन्। “हिजो नेताका घरमा भाँडा माझ्न राखिएका प्रहरी फिर्ता गरिएका छन्,” उनले भनिन्।
निर्वाचन आयोगले चुनाव तयारीको ६० प्रतिशत काम सकिसकेको जानकारी दिंदै उनले न्यूनतम खर्चमा, शान्तिपूर्ण र निष्पक्ष निर्वाचन गराउने प्रतिवद्धता दोहोर्याइन्।
उनका अनुसार लुटिएका ८२१ हतियार फिर्ता भइसकेका छन् तथा ७ हजार कैदीबन्दी नियन्त्रणमा आइसकेका छन्।
प्रधानमन्त्री कार्कीले अख्तियार र सीआईबीले तीव्र रूपमा अनुसन्धान गरिरहेको तर कानुनी प्रक्रिया पार गर्न समय लाग्ने उल्लेख गरिन्। अहिले प्रशंसा आवश्यक नभएको बताउँदै उनले भने, “चुनाव सफलतापूर्वक सम्पन्न भएपछि मात्रै धन्यवाद दिनुहोस्।”






