काठमाडौं । बलिङ र ब्याटिङ दुवै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्सले काठमाण्डु गोर्खाजलाई २९ रनले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा विजयी सुरुआत गरेको छ। उद्घाटन खेलमै साविक विजेता जनकपुर बोल्ट्सलाई हराउँदै लयमा देखिएको काठमाण्डुलाई आज साविक उपविजेता सुदूरपश्चिमले रोक्न सफल भयो।
टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले कमजोर सुरुआत गर्दा ४ रनमै ३ विकेट गुमाएको थियो । तर कप्तान दीपेन्द्र सिंह ऐरी र हर्मित सिंहले इनिङ्स सम्हालेपछि टोलीले २० ओभरमा सबै विकेट गुमाउँदै १४७ रनको प्रतिस्पर्धात्मक योगफल बनायो।
हर्मितले केवल २० बलमा २ चौका र ६ छक्का प्रहार गर्दै विस्फोटक ५३ रन जोडेर टोलीलाई उकासेका थिए।
जवाफमा १४७ रनको लक्ष्य पछ्याउन उत्रिएको काठमाण्डु गोर्खाज १६.५ ओभरमै ११८ रनमा समेटियो। काठमाण्डुको लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ३४ रन बनाए। जोन सिम्पसोनले २४, भीम शार्कीले १२ र मिलिन्द कुमारले ११ रन जोडे। बाँकी ब्याट्सम्यान दोहोरो अंकमा रन बनाउन असफल रहे।
सुदूरपश्चिमका बलरहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए। स्कट कुगेलेइन, हेमन्त धामी र हर्मित सिंहले २–२ विकेट लिए भने इशान पाण्डे, नरेन साउद र अविनाश बोहराले एक–एक विकेट झारे।
बलिङतर्फ काठमाण्डुका कप्तान करण केसी चम्किए। उनले ४ विकेट हात पारे।यस्तै सन्नी पटेल, मिलिन्द कुमार र रासिद खानले पनि २–२ विकेट योगदान दिए। दोस्रो खेलमै बलियो काठमाण्डु गोर्खाजलाई हराउँदै सुदूरपश्चिम रोयल्सले प्रतियोगितामा प्रभावशाली प्रवेश गरेको छ।






