मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल दुई–तिहाइ बहुमतले पदमुक्त

 

जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डललाई पदअनुकूल आचरण नगरेको आरोपमा दर्ता गरिएको प्रस्ताव प्रदेश सभाले दुई–तिहाइ बहुमतले पारित गरेको छ । बुधबार बसेको प्रदेश सभा बैठकमा प्रस्तावमाथि छलफल गरी मत विभाजन प्रक्रियामार्फत पारित गरिएको हो । प्रस्ताव पारितसँगै मण्डल सभामुख पदबाट पदमुक्त भएका छन् ।

उपसभामुख बबिता कुमार राउत ईशरका अनुसार प्रस्तावको पक्षमा ७६ मत परेको थियो । सो बेला बैठकमा जम्मा ७८ जना प्रदेश सांसदहरूको उपस्थिति थियो ।

गत कात्तिक २७ गते सात दलीय गठबन्धनका ६४ प्रदेश सांसदहरूले मण्डलमाथि पदअनुकूल आचरण नगरेको भन्दै प्रस्ताव दर्ता गराएका थिए । त्यसपछि आज उपसभामुख ईशरको निर्देशनमा बैठक बोलाई प्रस्तावमाथि विस्तृत छलफल गरिएको हो ।

बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले प्रस्ताव पेस गरेका थिए । छलफलका क्रममा लोसपाका उपेन्द्र महतो, जसपा नेपालका मनिषकुमार सुमन, सञ्जयकुमार यादव, राजकुमार गुप्ता, कांग्रेसकी जीवछीदेवी यादव, नेकपा (एकीकृत समाजवादी) का गणेश पटेल र प्रमोद यादवलगायत सांसदहरूले आ–आफ्ना धारणा राखेका थिए ।

तर नेकपा एमालेका सांसदहरूको उपस्थिति भने विवादास्पद रह्यो । सुरुको बैठकमा एकजना सांसद देखिए पनि स्थगित भएपछि पुनः बसेको बैठकमा एमालेका कुनै सांसद सहभागी भएनन् ।

मत विभाजनपछि दुई–तिहाइ बहुमतले प्रस्ताव पारित भएपछि सभामुख मण्डलको पद स्वतः रिक्त बनेको प्रदेश सभाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्