काठमाडौं -निर्वाचन आयोगले आफ्नो वेबसाइट र मतदाता नामावलीमा कुनै पनि अनधिकृत व्यक्तिको पहुँच नरहेको स्पष्ट पार्दै एक विज्ञप्ति जारी गरेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज प्रकाशित विज्ञप्तिमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा गरिएको दाबीहरू भ्रमपूर्ण रहेको उल्लेख गर्दै आयोगको सूचना प्रणाली सुरक्षित रहेको बताएका छन्।
आयोगका अनुसार कानूनअनुसार गोप्य राखिनुपर्ने सूचनाको सुरक्षामा कुनै कमी नरहेको र त्यसका लागि निरन्तर अनुगमन, सुरक्षा जोखिम विश्लेषण तथा आवश्यक सबै प्राविधिक उपायहरू अवलम्बन भइरहेको छ। अनधिकृत पहुँचका विषयमा भएको चर्चाप्रति गम्भीर ध्यान आकर्षण गराउँदै आयोगले सूचनाको गोपनीयता तथा सुरक्षा सुनिश्चित गर्न प्रतिबद्ध रहेको जनाएको छ।






